कभर स्टोरी

तरुण दलको केन्द्रीय समिति तत्काल विस्तार गर्न पार्टी सभापतिलाई आग्रह

By Bala Adhikari

January 18, 2018

काठमाडौँ, माघ ४ । नेपाल तरुण दलले केन्द्रीय समिति विस्तार गर्न पार्टीसँग जोडदार माग गरेको छ ।

नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतको अध्यक्षतामा आज बसेको बैठकले निर्वाचन भएको १६ महिना विती सक्दा  पनि तरुण दलको केन्द्रीय समिति गठन हुन नसक्नु  दुर्भाग्यको कुरा भएको उल्लेख गर्दै छिटो भन्दा छिटो कार्यसमिति विस्तार गर्न पार्टीलाई आग्रह गर्ने निर्णय गरेको हो । पार्टीले हस्तक्षेप गरी  मनोनित गरेको कमिटीलाई नै पार्टीले पूर्णता दिन नसक्दा तरुण दल भित्र थप अन्योलता बढ्दै गएको छ ।

आज बसेको सो  बैठकले संगठन निर्माणमा तरुणलाई व्यापक परिचालन गर्ने निर्णय समेत गरेको दलका महासचिव भुपेन्द्रजंग शाहीले जानकारी गराए ।

बैठकले यहि महिनाको अन्तिममा देशभरका तरुण अध्यक्षको राष्ट्रिय भेला गर्ने निर्णय  समेत गरेको छ । त्यस्तै शीतलहर र भाइरलको ज्वरोबाट पीडित जनतालाई राहत र उपचारको व्यवस्था मिलाउन सरकारसँग माग राखिएको महासचिव शाहीले बताएका छन् ।