कभर स्टोरी

प्लस टु अध्ययनरत विद्यार्थीका लागि ओलम्पियाडमा आवेदन खुल्यो

By Bala Adhikari

January 19, 2018

काठमाडौँ, माघ ५ । कक्षा प्लस टु मा अध्ययनरत विद्यार्थीहरुका लागि राष्ट्रिय प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगिताको आवेदन खुल्ला गरिएको छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड, २०१८ को आवेदन खुल्ला भएको बताएको छ । ओलम्पियाड एक शैक्षिक प्रतिष्पर्धात्मक प्रतियोगिता हो ।

ओलम्पियाडमा २०७५ असार ६ गतेसम्म (जुन २०, २०१८) २० वर्ष भन्दा कम उमेर समुहका प्लस टु मा अध्ययनरत वा शैक्षिकसत्र २०१८ मा विश्वविद्यालय कार्यक्रममा भर्ना हुने विद्यार्थीले आवेदन दर्ता गर्न पाउनेछन् । २०७४ माघ २६ सम्म प्रतियोगितामा भाग लिन चाहने विद्यार्थीले आफ्नो आवेदन दर्ता गराइसक्नुपर्नेछ ।

विद्यार्थीहरुको सुविधाका लागि सोसाइटीको वेबसाइट www.nepalastronomicalsociety.org/olympiad मा गई आवेदन फाराम तथा प्रतियोगिता सम्बन्धी जानकारी पुस्तिका डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको अध्यक्ष सुरेश भट्टराईले बताएका छन् ।

प्रतियोगिताको पहिलो चरणको परीक्षा फागुन ५ मा विराटनगर, चितवन, काठमाडौँ, पोखरा, बुटवल र धनगढीमा सञ्चालन गरिने सासाइटीले बताएको छ । प्रतियोगितामा सामेल भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतिष्पर्धाका लागि सिफारिस गरिनेछ ।

सन् २०१४ देखि सञ्चालन गरिएको यस प्रतियोगिताबाट ८०० भन्दा बढी विद्यार्थीले आफ्नो प्रतिभा परीक्षण गरिसकेका छन् । प्रतियोगितामा खगोल र भौतिक विज्ञान एवं गणितसम्बन्धी प्रश्न सोधिने अध्यक्ष भट्टराईले जानकारी गराएका छन् ।

प्रतियोगिताबाट चुनिएका विद्यार्थी पाँच महिनापछि हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् ।