आर्थिक

देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने : मन्त्री बस्नेत

By Bala Adhikari

February 02, 2018

काठमाडौँ, माघ १९ । मुलुकको समग्र विकासका लागि सूचना, सञ्चार तथा प्रविधि विकासको आवश्यकता रहेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए ।

इञ्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस)ले आयोजना गरेको ‘१५ औँ राष्ट्रिय प्राविधिक महोत्सव’ को उद्घाटन गर्दै मन्त्री बस्नेतले मुलुकमा प्रविधिको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

उनले तीन वर्षभित्रमा प्रत्येक जिल्लामा निःशुल्क कम्युटर शिक्षा पुर्याउने सरकारको योजना अनुसार अहिले विभिन्न १४ जिल्लामा त्यसको तयारी भइरहेको जानकारी दिदैं काठमाडौँको पशुपति र स्वयाम्भूलगायतका क्षेत्रलाई सरकारले वाइफाई फ्रि क्षेत्रको रूपमा अगाडि बढाएको जानकारी गराए ।

नेपालकै स्रोत साधन प्रयोग गरेर स्वदेशमै रोजगारीको सिर्जना गरी विदेश पलायन भएका युवालाई समेत मुलुकभित्र रोजगारीको सिर्जना गर्नुपर्ने मन्त्री बस्नेतको भनाइ छ । उनले मुलुकमा संविधान निर्माण भइरहेको सन्दर्भमा त्यसको कार्यान्वयनसँगै देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने कुरामा जोड दिएका छन् ।

तीन दिनसम्म चल्ने उक्त महोत्सवमा इञ्जिनियरिङ र प्रविधिसँग सम्बन्धित करिब १५० स्टल राखिएको महोत्सवका संयोजक प्रसिद्ध कार्कीले बताए ।