कभर स्टोरी

स्वार्थभन्दा माथि उठेर गुणस्तरीय सेवा प्रवाह गर्न अनुरोध

By Bala Adhikari

February 05, 2018

काठमाडौँ, माघ २२ । प्रत्येक ग्रामीण विद्यालयमा कम्प्यूटर शिक्षा पुर्याउने उद्देश्यका साथ सरकारले जनतालाई प्रत्येक्ष लाभ हुने गरी द्रुत गतिमा काम गर्न नेपाल टेलिकमका कर्मचारीलाई सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले निर्देशन दिएका छन् ।

मन्त्री बस्नेतले आज टेलिकमको १४ औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रमको उट्घाटन गर्दै टेलिकमका आन्तरिक समस्यालाई आन्तरिक रूपमै समाधान गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमका कर्मचारीलाई अनुरोध गरे । सबैले आफ्ना कमीकमजोरी सुधार गरी कम्पनी र जनताका लागि सामूहिक भावनाका साथ काम गर्नुपर्ने, त्यसो गरेमा मात्र निजी कम्पनीसँग प्रतिष्पर्धा गर्न सकिने, मन्त्री बस्नेतको भनाइ छ ।

उनले नेपालका प्रत्येक ग्रामीण विद्यालयमा कम्प्यूटर शिक्षा पुर्याउने उद्देश्यका साथ सरकारले शुरूमा कम्तीमा १४ जिल्लामा काम थालिसकेको बताए । सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले निजी कम्पनीसँगको कडा प्रतिष्पर्धा गर्नुपर्ने सन्दर्भमा सामूहिक उत्साहका साथ काम गर्नुपर्ने कुरामा जोड दिएका छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका अध्यक्ष दीगम्बर झाले नेपाल टेलिकमले जनतालाई ठग्न नदिन सफल भए पनि प्रतिष्पर्धामा भने ओरालो लाग्दै गएको बताए ।

टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले १४ वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक करिब चार लाख २२ हजारमात्र रहेकामा अहिले कम्पनीले मुलुकको ७७ जिल्ला र ७ वटै प्रदेशमा तारसहित र तारसहितका सेवा तथा सेवा सञ्चालनमा ल्याएपछि कम्पनीको ग्राहक आधारमा निरन्तर वृद्धि भई एक करोड ८५ लाख नाघिसकेको जानकारी गराए ।

टेलिकमले प्रिपेड सेवाग्राहीलाई कुरा गर्दै गर्दा ब्यालेन्स सकिए पनि फोन सम्पर्कलाई निरन्तरता दिन नमस्ते क्रेडिट सेवाको सफ्ट लञ्च गरेको छ । कार्यक्रममा २० वर्ष स्थायी सेवा गर्ने ९६ जना कर्मचारीलाई २० वर्षे पदक प्रदान गरिएको छ । त्यसैगरी विक्रेता कम्पनी/व्यक्ति तथा गत वर्ष सर्वाधिक बिल भुक्तानी गर्ने ग्राहकलाई सम्मान गरियो ।

मन्त्रालयका निमित्त सचिव तथा टेलिकमका अध्यक्ष प्रेमकुमार श्रेष्ठले टेलिकम सेवालाई ग्रामीण तहसम्म पुर्याउने योजना अनुसार टेलिकमले तीव्र गतिमा काम गरिरहेको बताए ।