काठमाडौँ, माघ २३ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले ‘हरेक दिन एक नयाँ काम’ अभियान थालेको छ ।
प्रहरीले गर्दै आएको दैनिक कामलाई निरन्तरता दिँदै प्रभागले हरेक दिन एक नयाँ काम गर्ने अभियान चलाएको प्रभागका प्रमुख एवं प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।
प्रहरीले बसपार्क वरपरको सरसफाइ, प्रभाग वरपर गमलामा पुष्परोपण, पैदलमार्ग र आकाशेपुलमा रहेका पसल हटाउने, प्रहरी सचेतना सम्बन्धी माइकिङ गर्नेलगायत काम गर्दै आएको छ ।
उनले बसपार्क क्षेत्रलाई पूर्ण शान्ति सुरक्षा दिनका लागि दैनिक एक एक नयाँ कार्यक्रम सञ्चालन गरिने जनाए । माघ महिनाको शुरुवातदेखि सञ्चालन गरिएको सो अभियानलाई निरन्तरता दिँदै जाने प्रभागले बताएको छ ।