आर्थिक

कोरिया सरकारले अनुदान उपलब्ध गराउने

By Bala Adhikari

February 06, 2018

काठमाडौँ, माघ २३ । एकीकृत ग्रामीण विकासका लागि कोरिया सरकारले अनुदान स्वरुप रु एक अर्ब दुई करोड रकम उपलब्ध गराउने भएको छ ।

विज्ञान प्रविधिको क्षेत्रमा नयाँ खोज एवं अध्ययन गरी नेपालको सामाजिक, आर्थिक विकासमा मद्दत गर्न कोरिया सरकारले काठमाडौँ विश्वविद्यालयलाई सो रकम दिन लागेको हो । मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र अर्थ सचिव शंकरप्रसाद अधिकारीले अनुदान सहायता सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे ।

कोरियाली सहयोग नियोग (कोइका) र सो विश्वविद्यालयले संयुक्त रुपमा आगामी पाँच वर्षभित्रमा सो परियोजना कार्यान्वयन गर्ने छन् । त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत पार्कले परियोजनाबाट नेपालको प्राविधिक क्षमता अभिवृद्धिका साथै ग्रामीण भेगका जनताको जीवनस्तरमा सकारात्मक परिवर्तत भई आर्थिक उन्नयनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

सचिव अधिकारीले कोरिया सरकारले नेपालको सामाजिक आर्थिक विकासमा निरन्तर सहयोग गर्दैै आएकामा आभार प्रकट गर्दै उक्त मुलुकबाट विशेष गरी शिक्षा, कृषि र स्वास्थ्य क्षेत्रमा प्राविधिक सहायता प्राप्त भइरहेको बताए ।

निजी क्षेत्रको अग्रणी विश्वविद्यालयका रुपमा स्थापित सो शैक्षिक प्रतिष्ठानले विज्ञान, प्रविधि र अन्वेषणका क्षेत्रमा दूरगामी महत्वका कार्य गर्ने अपेक्षा नेपाल सरकारले गरेको छ ।