कभर स्टोरी

नेपाली सेनासम्बन्धी त्रिदिवसीय बृहत प्रदर्शनी

By Bala Adhikari

February 08, 2018

काठमाडौँ, माघ २५ । नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवसका अवसरमा त्रिदिवसीय बृहत प्रदर्शनी आयोजना गरेको छ ।

‘नेपाली सेना इतिहासदेखि वर्तमानसम्म’ शीर्षकमा आयोजित प्रदर्शनीको आज आयोजित कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले उद्घाटन गरे । नेपाली सेनाको प्रधान कार्यालय परिसरमा आयोजित सो प्रदर्शनीमा नेपाली सेनाले आफ्नो स्थापनाकालदेखि विभिन्न कालखण्डमा राष्ट्र र जनताप्रति समर्पित भई गरेका गौरवगाथा समेटिएका तस्वीरदेखि लिएर हातहतियार, ऐतिहासिक तथा हालका उपकरण र अन्य सैन्य सामग्री राखिएका छन् ।

नेपाली सेनाले आफ्नो जिम्मेवारी निर्वाहका क्रममा सम्पादन गरेका जोखिमपूर्ण काम, मुलुकको विकास–निर्माणका योगदान, विश्वका विभिन्न भागमा शान्ति स्थापना गर्न शान्तिसेनामार्फत गरेको सेवा, दैवी विपत्ति तथा आपत्कालीन अवस्थाका उद्धार तथा खोजलगायत विषय ‘शब्दचित्र र तस्वीर’मा समेटिएका सामग्री पनि प्रदर्शनीमा समावेश छ ।