आर्थिक

ललितपुरका दश उद्योगलाई ३ दिनभित्र उपस्थित हुन पत्राचार

By Bala Adhikari

February 09, 2018

काठमाडौँ, माघ २६ । ललितपुरका १० उद्योगलाई तीन दिनभित्र उपस्थित हुनका लागि नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुले पत्राचार गरेको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागलाई यही पुसमा गरेको अनुगमनका क्रममा तौलने यन्त्रको प्रयोग नियमित गराउन जानकारी गराएकोमा अहिलेसम्म अटेर गरेपछि तीन दिनभित्र उपस्थित हुनका लागि नापतौल कार्यालयले पत्र काटेको हो ।

कार्यालयले आज नेपलिज हेण्डिक्राफ्ट, केबी पेट, विजु प्लास्टिक उद्योग प्राली, बैकुण्ठ कलात्मक काष्ठ उद्योग, स्ट्रक्चर नेपाल प्राली, ताम्राकार युटेन्सिल उद्योग, सुपर क्वालिटी प्लास्टिक उद्योग, पूर्ण उड कार्भिङ्ग, विरा फर्निचर र उड कार्भिङ्ग उद्योगलाई तीन दिनभित्र उपस्थित हुन पत्र काटेको छ ।

क्षेत्रीय कार्यालयका प्रमुख शशीभूषणकुमार यादवले तौलने यन्त्र नियमित गराउन जानकारी गराएको भए पनि एक महिनासम्म नियमित गराउने कार्य नगराएपछि उपस्थित हुन पत्र काटिएको जानकारी दिए । उपस्थित नहुनुको कारणसहित खुलाउन समेत पत्रमा अनुरोध गरिएको छ ।