बिर्तामोड (झापा), २७ जेठ । लामो समयदेखि हुन नसकेको स्थानीय तहको चुनाव पहिलो चरणको समाप्ती पश्चात दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै गर्दा पूर्वी तराई क्षेत्रमा यतिखेर चुनावी चहलपहल तथा रौनकता बढेको छ । तराईका मधेशी दलहरुले स्थानीय तहको निर्वाचनमा आफ्ना विभिन्न माग राख्दै अडानमा रहेकाले पूर्वी तथा तराईका जिल्लाहरुमा स्थानीय तहको निर्वाचन हुने नहुने भन्ने अन्योलता कायम रहे पनि स्थानीय स्तरमा भने फरक वातावरण सिर्जना भएको छ ।
हाल चुनावलाई लक्षित गरी विभिन्न दलका नेता तथा कार्यकर्ता घरदैलो सहितका कार्यक्रममा व्यस्त देखिएका छन् । प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलले यतिखेर आफ्नो सक्रियतालाई अगाडि बढाउँदै छन् ।
संविधान संशोधनको लगायतका मागसहित आन्दोलनरत राष्ट्रिय जनता पार्टीले भने चुनावमा जान मधेस र मधेसीका माग पूरा गर्नुपर्ने आफ्नो अडानलाई हालसम्म पनि कायमै राखेको छ ।
दिनानुदिन चुनावको मिति नजिकिँदै गर्दा पूर्वी तराई क्षेत्रमा दलले मुख्य बजार तथा चोक पार्टीका झन्डा तथा चुनाव चिह्न अङ्कित झन्डाले झकिझकाउ, रङ्गी चङ्गी पारेका छन् । चुनावका लागि उम्मेदवारले आफ्नो घरदैलो कार्यक्रमलाई अझ तीव्रताका साथ अघि बढाएका छन् ।
झापा जिल्लामा १६ वटा दल दर्ता भएको सो जिल्लामा आठ नगरपालिका र सात गाउँपालिका रहेका छन् भने बिर्तामोड नगरपालिकामा मात्र ४२ हजार मतदाता रहेका छन् । सम्पूर्ण पार्टीबाट चुनावका लागि प्रत्येक वडा तथा टोलमा प्रचारप्रसार समिति गठन तथा कार्यालय स्थापना गरी प्रचारप्रसारलाई तीव्रता दिदै आएको छ । सबै दलका नेता तथा कार्यकर्ता सभ्य र भव्य रुपमा आफ्नो पार्टीलाई जिताउनका लागि दत्तचित्तका साथ अगाडि बढिरहेका छन् । “घरदैलोका क्रममा सुकुम्बासी समस्याको समाधानका साथै खानेपानी, बाटोघाटो, ढल निकास लगायतका विषयमा स्थानीयवासीले समस्या उठाउने गरेकाले सोही अनुरुपका आ–आफ्ना घोषणा पत्र सहित दलगत रुपमा नेता तथा कार्यकर्ता अघि बढेका छन् । स्थानीय स्तरको चुनाव हुने कुराले स्थानीयमा थप उत्साह जागेको स्थानीयवासी बताउँछन् । विगत लामो समयदेखि हुन नसकेको स्थानीय तहको निर्वाचनलाई सबै दल सहभागी हुने किसिमले सम्पन्न गराउनका लागि सरकार तथा आन्दोलनरत पक्ष दुवै लचिलो भएर आउनु आवश्यक देखिन्छ । स्थानीय तहको निर्वाचनसँगै समग्र देश नै विकासको महत्वपूर्ण क्षणमा प्रवेश गर्ने कुरामा सबै जनताहरु आशावादी रहेका छन् ।