कभर स्टोरी

उम्मेदवारको नामावली बुझाउने तयारीमा काँग्रेस

By Bala Adhikari

February 12, 2018

काठमाडौँ, माघ २९ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिट अनुसार नेपाली काँग्रेसले उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।

आज बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक सिटमा उम्मेदवार तय गर्ने सम्बन्धमा छलफल गरिरहेको पार्टी कार्यालयले बताएको छ । बैठकले आजै नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाउने काँग्रेस नेता दिलेन्द्रप्रसाद बडूले जानकारी गराए ।

काँग्रेसले प्राप्त गरेका सिटमा कम्तीमा २० महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आयोगले बताएको छ । आयोगले शुक्रबार समानुपातिक निर्वाचनतर्फ दलले प्राप्त गर्ने स्थान संख्याबारे जानकारी दिँदै यसअघि बन्दसूचीमा पेश गरिएको नामलाई समावेशिताको आधार मिलाएर आजसम्म पठाउन दलहरुलाई पत्राचार गरेको थियो ।

आयोगका अनुसार समानुपातिकतर्फ नेकपा (एमाले) ४१, नेपाली काँग्रेस ४०, नेकपा (माओवादी केन्द्र) १७ तथा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले छ/छ स्थान प्राप्त गरेका छन् ।

एमालेले प्राप्त स्थानमा उम्मेदवारको टुंगो लगाई आइतबार नै सूची आयोगमा बुझाएको छ भने अन्य दलले आज बुझाउने बताइएको छ ।