कभर स्टोरी

वायू प्रदूषण विरुद्ध अभियान मास्कमाण्डु–३ मा उत्साहपूर्ण सहभागिता

By Bala Adhikari

February 12, 2018

ललितपुर, माघ २९ । वायु प्रदूषण विरुद्धमा साझा संकल्प लिने प्रयत्नका साथ सञ्चालन भइरहेको ‘मास्कमाण्डु–३’ अभियानमा सर्वसाधारणले उत्साहपूर्ण रुपमा सहभागीता जनाएका छन् ।

यस अभियानमा युवा, शैक्षिक संस्था, आमनागरिक, वातावरणविद् तथा समाजका अग्रणीहरुको सहभागिता बढ्दै जान थालेको छ । गत माघ २५ गतेदेखि साताव्यापी रुपमा सञ्चालन गरिएको यस अभियान अन्तर्गत उपत्यकाका विभिन्न चोकहरुमा स्वच्छ हावाको लागी श्रृंखलाबद्ध सांकेतिक प्रदर्शन गरिएको छ । हालसम्म चावहिल, कोटेश्वर, सातदोबाटो, कलंकी र माइतीघरमा सफलतापूर्वक कार्यक्रम सम्पन्न भएको स्वच्छ ऊर्जा नेपालका प्रवन्ध निर्देशक राजन थापाले जानकारी दिए ।

बिहान ९ः०० देखि ९ः३० बजेसम्म वायु प्रदूषण सम्बन्धी जानकारी मूलक सन्देश र नारा लेखिएका ब्यानर, प्लेकार्डसहित मूलचोकमा उभिएर सहभागीहरुले सफा र स्वच्छ काठमाडौं बनाउनका लागि सर्वसाधारणलाई उत्प्रेरित गर्दैै दायित्वबोध गराउने गरेका छन् । नेपालको संविधान २०७२ को धारा ३० मा उल्लेख भए अनुसार स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको सुनिश्चितता माग गर्ने अभियानको रुपमा यस अभियानलाई लिइएको निर्देशक थापाले बताए ।

सन् २०१६ र २०१७ मा मास्कमाण्डु पहिलो र दोस्रोपछि वायुको गुणस्तर सुधारका लागि केही नीतिगत व्यवस्था भएपनि वायु प्रदूषण र यसको असर झन् विकराल बन्दै गएको हुँदा सचेतनाका लागि ‘मास्कमाण्डु–३’ को अभियानको आयोजना गरिएको उनले बताए ।

‘मास्कमाण्डु–३’ अभियानले शहरको वायुको गुणस्तर सुधार गर्न र प्रत्येक व्यक्तिले आफ्नो स्वच्छ हावाको अधिकार सुनिश्चित गर्न आ–आफ्नो स्तरबाट जिम्मेवारी लिन र दृढ भएर लाग्न आग्रह गरेको छ । आगामी फागुन २ गते भृकुटीमण्डपबाट रत्नपार्कसम्म बृहत् र्याली र प्रदर्शनीका साथ यस अभियानको समापन हुने जनाइएको छ ।