समाचार

प्रजातन्त्र सेनानीको निधन

By Bala Adhikari

February 14, 2018

भक्तपुर, फागुन २ । लामो समयदेखि फोक्सोको नलीमा समस्या भोग्दै आएका प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको ८४ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ ।

पण्डितको मंगलवार राति निजी निवास भक्तपुरको सुँडालमा निधन भएको हो । पण्डितले प्रजातान्त्रिक लडाईंका क्रममा पटकपटक गरी १८ वर्ष जेलजीवन बिताएका थिए ।

उनी जेलमा रहँदा नेपाली काँग्रेसका नेताहरु स्व कृष्णप्रसाद भट्टराई, स्व गिरिजाप्रसाद कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवालगायतका नेताहरुको भान्छेका रुपमा समेत काम गरेका थिए ।

नेपाली काँग्रेसको आह्वानमा प्रजातन्त्रका लागि लामो संघर्ष र त्याग गरे पनि उनी काँग्रेसको कुनै पनि कार्यकारी पदमा भने बसेनन् । साथै, कुनै पनि सरकारी लाभको पदमा समेत उनी बसेनन् ।

पण्डितको गएराति नै हिन्दू धार्मिक परम्परा अनुसार दाह संस्कार गरिएको छ । यसैबीच, नेपाली काँग्रेस भक्तपुरले पण्डितको निधनले पार्टीलाई अपूरणीय क्षति भएको बताएको छ ।

काँग्रेस जिला सभापति दुर्लभ थापाद्वारा जारी शोक वक्तव्यमा प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा प्रजातन्त्र सेनानी पण्डितको निधनले काँग्रेस भक्तपुरले आफ्नो अभिभावक गुमाएको उल्लेख गर्दै पण्डितको त्याग र बलिदानले पार्टीलाई मार्गदर्शन गर्ने बताइएको छ ।