कभर स्टोरी

प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष पत्र प्रस्तुत

By Bala Adhikari

February 15, 2018

काठमाडौँ, फागुन ३ । प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्नका लागि वाम गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबीपत्र प्रस्तुत गरेको छ ।

एमालेका अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको उक्त पत्र केहीबेर अघि राष्ट्रपति कार्यालय, शीतल निवासमा बुझाइएको हो ।

गत मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम बुधबार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो । दुवै दलका अध्यक्षले हस्ताक्षर गरेको उक्त पत्रमा नेपालका संविधानको धारा ७६ ९२० बमोजिम बहुमतका आधारमा प्रधानमन्त्री नियुक्त गर्नुपर्ने उल्लेख छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा एमालेको १२१ र केन्द्रको ५३ सदस्य छन् । उनीहरुको दाबीपत्र आएपछि प्रधानमन्त्री नियुक्ति र शपथ ग्रहणको कार्यक्रम तय हुने राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माले जानकारी गराए ।

भेटका अवसरमा अध्यक्षद्वयका साथै एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका थिए ।