समाचार

प्रदेश ७ को मुख्य मन्त्रीमा सांसद भट्ट

By Bala Adhikari

February 15, 2018

धनगढी, फागुन ३ । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता त्रिलोचन भट्ट आज प्रदेश नं ७ को मुख्य मन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम माओवादी संसदीय दलका नेता भट्टलाई मुख्य मन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्य मन्त्रीको शपथ ग्रहण भने यही फागुन ५ गते गर्ने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले बताएको छ । एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा बुधबार प्रदेश प्रमुखसमक्ष भट्टले आफूलाई मुख्य मन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका थिए ।

अठचालीस वर्षीय भट्ट डोटी जिल्लाबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् । प्रदेश नं ७ मा एमालेका २५, माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद छन् ।