समाचार

सडक कार्यालय स्थापित हुन सकेन

By Bala Adhikari

February 16, 2018

कपिलवस्तु, फागुन ४ । कपिलवस्तुको शिवराज नगरपालिका–१, शिवपुरस्थित डिभिजन सडक कार्यालय द्वन्द्वकालमा विस्थापित भएको थियो जुन अहिलेसम्म पनि पुनःस्थापन हुनसकेको छैन ।

तालुकदार मन्त्रालयले कार्यालयलाई साविककै स्थानमा पुनःस्थापना गर्न निर्देशन दिए पनि बेवास्था गरिएकाले सो कार्यालय हालसम्म जिल्लाको गोरुसिंगेमा रहेको संपर्क कार्यालयबाटै सेवा प्रदान गर्दै आइरहेको छ । कागजपत्रमा शिवपुर लेखिए पनि काम भने गोरुसिंगेबाट भइरहेकाले कार्यालयको वैधानिकतामा समेत प्रश्न उठाएको स्थानीयवासीको भनाइ छ ।

शिवपुरवासीले पटक/पटक कार्यालयलाई शिवपुरमै पुनःस्थापन गर्न माग गर्दासमेत कुनै सुनुवाई नभएको स्थानीय कृष्ण थापाले बताए । तत्कालीन विद्रोही नेकपा (माओवादी केन्द्र)ले ०५८ सालमा पश्चिमाञ्चल डिभिजन सडक कार्यालय शिवपुरमा आक्रमण गरेकामा ठूलो क्षति नभए पनि असुरक्षाको कारण देखाउँदै गोरुसिंगेस्थित सेनाको क्याम्प नजिक कार्यालय सारिएको थियो ।

जिल्लादेखि केन्द्रसम्म पटक÷पटक धाउदासमेत कसैबाट पनि पुनःस्थापनका लागि ठोस पहल भएन, कर्मचारी अटेर गरेर गोरुसिंगेमा बसेका छन् हामीले भनेको कसैले मन्दैन शिव पाण्डेले भने । पश्चिमाञ्चल सडक डिभिजन कार्यालय ५ नं इञ्जिजियर वीरेन्द्र कुँवरका अनुसार गोरुसिंगेवासीको अवरोधका कारण कार्यालय सार्न कठिनाइ भइरहेको छ ।

मन्त्रालयबाट सो कार्यालय गोरुसिंगेबाट शिवपुर सार्न आदेश आइसकेको छ, तर ल्याउन नदिइएको इञ्जिनियर वीरेन्द्र कुँवरले बताए । गोरुसिंगेमा बसेर कार्यालय सञ्चालन गर्न कठिनाइ भइरहेको सो कार्यालयका कर्मचारीले बताएका छन् ।

नेपालमा शान्ति स्थापना भएको एक दशक बितिसक्दा पनि शिवपुरस्थित सडक डिभिजन कार्यालय बेवारिसे भएको छ र करौडौंको भौतिक संरचना जीर्ण बन्न पुगेका छन् ।