कभर स्टोरी

बाँके जिल्लाका सबै तहमा ने.का. का उम्मेदवार तय

By Bala Adhikari

June 11, 2017

नेपालगञ्ज, बाँके जेठ २८ । स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेस बाँके जिल्ला शाखाले सबै उम्मेदवारको नामावली टुङ्गो लगाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा डा सुरेशकुमार कनोडिया र उपप्रमुखमा उमा थापामगरलाई उम्मेदवार बनाइएको छ । मेयरका उम्मेदवार कनोडिया नेपाल मेडिकल शिक्षण अस्पताल नेपालगञ्जका महाप्रवन्धक हुन भने उपमेयर थापा प्रेस युनियनकी पूर्व केन्द्रिय सदस्य हुन ।

कोहलपुर नगरपालिकाको प्रमुखमा भानुभक्त भट्टराई र उपप्रमुखमा सञ्जु चौधरीलाई अगाडि सारिएको छ । एक उपमहानगरपालिका, एक नगरपालिका र पाँच गाउँपालिका रहेको बाँके जिल्लाका सबै तहमा नेपाली कांग्रेसले उम्मेदवार तय गरेको छ । पाँचवटा गाउँपालिकाको उम्मेदवार पनि नेपाली काँग्रेसले आफ्ना उम्मेदवारहरु टुङ्गो लगाइ सकेको छ ।

खजुरा गाउँपालिकाको अध्यक्षमा नक्की खां र उपाध्यक्षमा दीपा आले, राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा लाहुराम थारू र उपाध्यक्षमा धनीकुमारी खत्री, वैजनाथ गाउँपालिकाको अध्यक्षमा देवबहादुर खत्री र उपाध्यक्षमा भावना चौधरी, जानकी गाउँपालिकाको अध्यक्षमा छब्बन खां र उपाध्यक्षमा रामप्यारी यादव र नरैनापुर गाउँपालिकाको अध्यक्षमा रामचन्द्र मौर्य र उपप्रमुखमा अतिकुन्नी साह उम्मेदवारको रुपमा कांग्रेसले अगाडि बढाएको छ । लामो विवाद पश्चात नेपाली कांग्रेस बाँके जिल्लाले उम्मेदवारको टुङ्गो लगाए पनि अझै केही असन्तुष्ट पक्षले विरोध जनाइरहेका छन् । ने.का. बाँकेले सबै असन्तुष्ट पक्षलाई समेटेर अगाडि बढ्ने कोशिस गरिरहेको जिल्ला सभापति किरण कोइरालाले बताएका छन् ।