जिल्ला-विशेष

पच्चीसौँ राष्ट्रिय बाल साहित्य सम्मेलन २४, २५ र २६ गते खोटाङमा हुँदै

By Bala Adhikari

February 19, 2018

खोटाङ, फागुन ७ । पच्चीसौँ राष्ट्रिय बाल साहित्य सम्मेलन फागुन २४, २५ र २६ गते खोटाङको दिक्तेलमा गरिने भएको छ । उक्त सम्मेलन नेपाल बाल साहित्य समाज काठमाडौँको आयोजनामा हुने भएको छ ।

बाल साहित्यमा लोक साहित्यको प्रभाव, अभिभावक र बाल साहित्य, बाल साहित्यमा बाल अधिकार र कर्तव्यलगायतका विषयमा कार्यपत्र प्रस्तुति, शिक्षक तथा अभिभावकसँग अन्तरक्रिया एवं बालपुस्तक प्रदर्शनी गरिने समाजका सचिव यशु श्रेष्ठले बताए ।

सम्मेलनमा बालबालिकाको सिर्जनशीलता तथा सीप विकास, बाल साहित्यबारे शिक्षक, अभिभावक तथा विद्यार्थीमा अभिरुचि र चेतना अभिवृद्धि, शिक्षण सीप र विधिबारे जानकारी गराइने श्रेष्ठले बताए । सम्मेलनको अवधिमा बाल साहित्य, बाल साहित्य प्रकाशनमा नवीनतम् प्रयोग र बजार, चित्रपुस्तक तथा चित्रकारिता, खोटाङ जिल्लाको बाल साहित्यको अवस्थालगायतका विषयमा शिक्षक तथा अभिभावकसँग छलफल गरिने बताइएको छ ।

यस्तै छात्रछात्रा सहभागी गराएर कथा लेखन, चित्रकला लेखन, कविता लेखन, कक्षागत नाटक मञ्चन सिकाइ, कथा, कविता वाचन सिकाइ एवं अन्तरक्रिया गरिने आयोजकले बताएको छ । सम्मेलनमा बाल साहित्यसँग सम्बद्ध लेखक, चित्रकार, सम्पादक, शिक्षक, अनुवादक, गायक, संगीतकार, पत्रकार, पुस्तकालय व्यवस्थापक, प्रकाशकलगायतको सहभागिता रहने बताइएको छ ।

वि.सं २०४४ देखि देशका फरक–फरक जिल्लामा सम्मेलन गर्दै आएको उक्त समाजले यो पल्ट भने दिक्तेलमा गर्ने टुङ्गो लगाएको हो ।