काठमाडौं, फागुन ९ । डा. गोविन्द केसीले आफ्नो जन्ममिति फरक–फरक रहेको आरोप लागेपछि यसबारे प्रष्टीकरण दिनका लागि पत्रकार सम्मेलन गरेका छन् ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता, जन्ममिति तथा योग्यताबारे प्रश्न उठाएका केसीकै जन्ममिति फरक–फरक रहेको समाचार आउन थालेपछि उनले पत्रकार सम्मेलन गरेका हुन् ।
बुधबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा पत्रकार सम्मेलन गरेर केसीले आफ्ना सबै प्रमाणपत्र सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा केसीका समर्थकहरुले ‘केसीको प्रमाणपत्र यता छ, पराजुली, तिम्रो कता छ ?’ लेखेको प्लेकार्ड बोकेका थिए ।
डा. केसीले आफ्ना प्रमाणपत्र सार्वजनिक गर्दै प्रधानन्यायाधीश पराजुलीलाई पनि आफूले जस्तै सबै प्रमाणपत्र सार्वजनिक गर्न चुनौती दिएका छन् ।