आर्थिक

सार्वजनिक सवारीका तुलनामा निजी सवारी साधनको खरिद दशौं गुणाले बढ्यो

By Bala Adhikari

February 23, 2018

ललितपुर, फागुन ११ । सार्वजनिक यातायातका तुलनामा निजी सवारी साधनको खरिद दशौं गुणाले बढेको छ । बागमती अञ्चल यातायात व्यवस्था कार्यालयमा नयाँ दर्ता भएका साना/ठूला सवारी साधन सवारीको तथ्यांक हेर्दा सार्वजनिक सवारीका तुलनामा बढी निजी सवारी दर्ता भएका छन् ।

यो आर्थिक वर्षको शुरुदेखि कात्तिकसम्म हेर्दा ६ हजार ६०२ वटा कार, जिप भ्यान दर्ता भएको प्रशासन शाखामा कार्यरत अमरसिंह ओलीले जानकारी गराए । यही अवधिमा सार्वजनिक बस, मिनीबस र माइक्रोबस गरेर जम्म ६७४ वटा नयाँ दर्ता भएका छन् ।

तथ्यांक हेर्दा सार्वजनिक नं प्लेट भन्दा धेरै गुणा बढी निजी नं प्लेटका गाडी दर्ता भएका छन् । दशैं–तिहारलगायतका समयमा निजी गाडी किन्नेको संख्या अझ बढ्ने गर्दछ । निजी सवारी साधनको खरिद पाँच वर्षयता अझै बढेको देखिएको छ । भूकम्प आएको वर्ष २०७२/७३ मा निजी नम्बर प्लेटका २१ हजार ६४७ कार, जिप, भ्यान दर्ता भएका थिए ।

कार्यालयमा गत कात्तिकसम्म एक लाख ७१ हजार ९६ वटा कार, जिप भ्यान दर्ता भएका छन् भने हालसम्म जम्मा ११ हजार ९३८ वटा बस, सात हजार १८३ वटा मिनिबस र तीन हजार ७९९ वटा माइक्रोबस कार्यालयमा दर्ता भएका छन् ।