कभर स्टोरी

गृहमन्त्री को बन्ने भन्ने विवादले मन्त्रिपरिषद विस्तारमा ढिलाइ

By Bala Adhikari

February 25, 2018

काठमाडौं, फागुन १३ ।  गृहमन्त्री को बन्ने भन्ने कुरामा माओवादीभित्र आन्तरिक किचलो भएको छ ।

माओवादीभित्रको आन्तरिक किचलो र एमालेसमेत मन्त्रीका लागि भइरहेको हानाथापका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ । माओवादीबाट गृहमन्त्रीका लागि रामबहादुर थापा र वर्षमान पुनले अडान नछाड्दा अध्यक्ष प्रचण्डले मन्त्रीको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउन सकिरहेका छैनन् ।

आइतबार साँझसम्म दुवै पार्टीबाट मन्त्री बन्नेहरुको नाम टुंगो लागेमा सोमबार सपथग्रहण हुने प्रधानमन्त्री निकट एक एमाले नेताले जनाएका छन् । माओवादी अध्यक्ष प्रचण्डले पनि पार्टीका केही नेतासँग सोमबारसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् । माओवादीबाट सरकारको नेतृत्व बादलले गर्नेमा सहमति भए पनि गृहमन्त्रीको विवाद रहेको छ ।

प्रचण्ड वर्षमानलाई गृहमन्त्री बनाउनुपर्ने दबावमा छन् । तर, पार्टीभित्र प्रदेश सरकारमा समेत बलियो हिस्सा लिन सफल भएका बादलले गृहमन्त्रीकै अडान लिइरहेका छन् । बादल र वर्षमानको लडाइमा पूर्वगृहमन्त्री जनार्दन शर्माले गृहमा पुनः बाजी मार्ने हुन् कि भन्ने चर्चा र चासोको विषय बनेको छ ।

प्रधानमन्त्री ओलीको चाहना पनि बादल वा वर्षमानभन्दा जनार्दन गृहमन्त्री भइदिए काम गर्न सहज हुन्थ्यो भन्ने ढंगले आएको माओवादी हेडक्वार्टर स्रोतले बताएको छ । तर, प्रचण्ड जनार्दनलाई गृहमन्त्री बनाउन खासै इच्छुक भने देखिएको पाइँदैन ।

यद्यपि वर्षमान निकट नेताहरुले भने बादलको नेतृत्वमा सरकारमा जाने र वर्षमान गृहमन्त्री हुने टुंगो लागिसकेकाले अरुले खेल्नुको कुनै पनि अर्थ नरहेको जनाएका छन् । विगतमा कटवाल प्रकरणका बेला बादल नै रक्षा मन्त्री रहेकाले अहिले उनलाई गृहमन्त्री दिँदा उनले हाँक्न नसक्ने आशंका छ ।

माओवादीका एक नेताले भने, ‘नवराज सिलवालको लफडा मिलाउनेदेखि सबै सुरक्षा अंगको विश्वास लिनुपर्ने अवस्था छ । कर्मचारीतन्त्रले भरोसा गर्ने व्यक्ति गृहमा चाहिन्छ ।

विप्लवहरुलाई समेत मिलाउनुपर्ने र रणनीति बनाउनुपर्ने अवस्था रहेकाले गृहमा वर्षमान पुनलाई पठाउनुपर्ने एकथरि नेताहरुले माग गरेका छन् ।

माओवादीको बैठकले प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामहादुर थापा वादललाई मन्त्रीहरुको नाम टुंगो लगाउने जिम्मेवारी प्रदान गरेको छ ।