शिक्षा

‘क्षमता विकास र रोजगारीलाई जोड दिनुपर्ने’

By Bala Adhikari

February 25, 2018

भक्तपुर, फागुन १३ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिीटिइभिटी)ले सीपयुक्त जनशक्ति निर्माणका लागि क्षमता विकास र रोजगारीलाई जोड दिनुपर्ने शिक्षा सचिव मधुप्रसाद रेग्मीले बताएका छन् ।

सिटिइभीटीको ३० औं वार्षिक उत्सवका अवसरमा उनले श्रम बजारमा सहजै बिक्न सक्ने र पूँजी निर्माणमा सहयोग गर्न सक्ने जनशक्ति उत्पादन गरी देशलाई समृद्घ बनाउन सिटिइभिटीको महत्वपूर्ण भूमिका रहनुपर्ने बताए । सिटिइभिटीले अब आवश्यकता पहिचान र म्यापिङ गरेर स्थानीय स्रोत, साधन र प्रविधि परिचालनमा जोड दिनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा प्रा डा सुरेशराज शर्माले युवालाई सीप दक्षताको डिग्री दिइनुपर्ने बताए । सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले सात वटै प्रदेशमा अधिकार सम्पन्न प्रादेशिक कार्यालय स्थापना गरी कम्तीमा एउटा नमूना प्राविधिक शिक्षालय स्थापना गर्ने तयारी भएको जनाए ।

अब सात प्रदेशमा सात वटा मोडेल पोलिटेक्निक बनाउने नीति बजेटमा रहेको छ, सातै प्रदेशमा नयाँ संस्था बनाउनेभन्दा पनि भएकालाई छनोट गरी सुधार गरिनेछ, सीप दिनका लागि योजना निर्माणसहित शिक्षा मन्त्रालय, योजना आयोग र अर्थलगायत अरु मन्त्रालयसँग सिटिइभिटीको नेतृत्वले लबिङ शुरु गरिसकेको उनले भने ।

वाग्लेले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमका क्षेत्रमा कलम चलाउने केन्द्रका एक पत्रकार र सात प्रदेशबाट एक एक गरी आठ जनालाई वार्षिक रुपमा पुरस्कृत गरिने घोषणा गरे ।

त्यस अवसरमा प्रशासन महाशाखा प्रमुख रमेश बखती, फोरम फर हेल्थ एण्ड साइन्सका अध्यक्ष कश्यप पौडेल, कर्मचारी संघका अध्यक्ष देवदत्त बडूलगायतले प्राविधिक शिक्षाको एउटै मूलद्वार हुनु आवश्यकता औंल्याएका छन् ।

कार्यक्रममा उत्कृष्ट कर्मचारी, विद्यार्थी र सेवानिवृत्त कर्मचारीलाई पुरस्कृर तथा सम्मान गरिएको थियो ।