समाचार

स्वेच्छिक अवकाशका लागि निजामती कर्मचारीद्वारा निवेदन

By Bala Adhikari

February 26, 2018

काठमाडौँ, फागुन १४ । स्वेच्छिक अवकाशका लागि करिब चार हजार निजामती कर्मचारीले निवेदन दिएका छन् ।

सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाश रोज्नका लागि निवेदन आह्वान गरेकामा करिब तीन हजार ७४८ हजारले निवेदन दिएको मन्त्रालयका स्वेच्छिक अवकाश एकाई शाखाका प्रमुख धर्मराज रोकायले बताएका छन् ।

मन्त्रालयले गत पुस २८ गते राजपत्रमा सूचना प्रकाशित गरेर समायोजनमा जान नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाशका लागि दरखास्त आह्वान गरेको थियो । पैंतालीस दिनको समयसीमा राखेर स्वेच्छिक अवकाशमा जाने कर्मचारीलाई निवेदन दिन अनुरोध गरिएको थियो । त्यसै अनुरुप कर्मचारीले निवेदन दिएका हुन् ।

गत पुस २९ देखि फागुन १३ गतेसम्म कर्मचारीले आफू कार्यरत कार्यालय र निकायमा स्वेच्छिक अवकाशको निवेदन दर्ता गराउने व्यवस्था थियो । रोकायले दरखास्त दिएका निवेदनलाई आवश्यक छानबिन गरी समायोजन गरिने जनाएका छन् । मन्त्रालयले ५० वर्ष उमेर पुगेका र बीस वर्षे सेवाअवधि पूरा गरी निवृत्तिभरण पाउने अवस्थामा रहेका कर्मचारीले अवकाश लिन पाउने व्यवस्थासमेत थियो ।

स्वेच्छिक अवकाश लिनेमा तीन सचिव, १३ सहसचिव र ४५ उपसचिव छन् । सबभन्दा बढी तल्लो तहका श्रेणीविहीन कर्मचारीले स्वेच्छिक अवकाश लिएको रोकायको भनाइ छ । भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव शम्भु कोइराला, संसद् सचिवालयका सचिवद्वय हिमलाल सुवेदी र वीरेन्द्र कार्कीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन् ।

उपसचिवसमेत रहेका रोकायले सम्बन्धित कार्यालयमा स्वेच्छिक अवकाशका लागि निवेदन दिएका दरखास्तको यही १९ गतेसम्म संकलन गरिने बताएका छन् ।

आवश्यक अध्ययनपछि अर्थ मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्मा स्वेच्छिक अवकाशका लागि लैजाने उनको भनाइ छ । मुलुकभरि करिब ८३ हजार निजामती कर्मचारी छन् ।