कभर स्टोरी

नवनियुक्त चार मन्त्रीले लिए शपथ

By Bala Adhikari

February 26, 2018

काठमाडौँ, फागुन १४ । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपति कार्यालय शीतल निवासमा आज चार मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिइएको हो । आज शपथ लिने मन्त्रीमा ईश्वर पोखरेल, रामबहादुर थापा, मातृका यादव र डा युवराज खतिवडा रहेका छन् ।

पोखरेल रक्षा, थापा गृह, यादव उद्योग, वाणिज्य तथा आपूर्ति र डा खतिवडा अर्थ मन्त्री बनेका छन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ,नेकपा (एमाले)का नेता तथा कार्यकर्ता, नेपाल सरकारका कर्मचारी, सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

अर्थमन्त्री डा खतिवडा पहिलोपटक मन्त्री बनेका हो । यसअघि, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नरसमेत रहेका डा खतिवडा वाम गठबन्धन सरकारको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका हुन् । यस्तै, गृहमन्त्री बनेका थापा तत्कालीन प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा रक्षा मन्त्री थिए ।

यस्तै, एमाले महासचिव पोखरेल यसअघि पनि मन्त्री भइसकेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादव पनि यसअघि मन्त्री भइसकेका छन् ।