समाचार

स्वतन्त्रता सेनानी उपाध्यायको निधन

By Bala Adhikari

February 27, 2018

दाङ, फागुन १५ । स्वतन्त्रता सेनानी तथा शिक्षाप्रेमी ईश्वरीप्रसाद उपाध्यायको सोमबार निधन भएको छ । तुलसीपुर–१२, कचिला निवासी उपाध्यायको ९३ वर्षका उमेरमा निधन भएको हो ।

काँग्रेसका पुराना निष्ठावान् नेता उपाध्यायले पञ्चायतकालमा १८ वर्षसम्म साविक उरहरी गाविसको प्रधानपञ्च भएर सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएका थिए ।

वनगाउँस्थित माध्यमिक विद्यालयलाई १८ बिघा जग्गादान गरेर त्यस भेगको शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिएका उपाध्यायले उरहरी मावि तथा बालमितेरी मावि भोजपुरको स्थापनामा अग्रणी भूमिका निभाएका थिए ।

स्व उपाध्यायका चार छोरा र एक छोरी छन् । उनको आज शीतलपुरस्थित घाटमा अन्तिम संस्कार गरिनेछ । उपाध्यायको निधनप्रति काँग्रेसले दुःख व्यक्त गरेको छ ।

पार्टी सभापति कीर्तिबहादुर खड्काले विज्ञप्ति जारी गरी काँग्रेसले एक निष्ठावान् धरोहर गुमाएको गुमाएको पुगेको बताएका छन् ।