साहित्य

२०७३ को छिन्नलता विभिन्न विधामा ६ जनालाई सम्मान गरिने

By Bala Adhikari

June 12, 2017

काठमाडौँ, २९ जेठ । विसं २०७३ को छिन्नलता गीत पुरस्कार गीत रचना, गायन, सङ्गीत विधामा चार र छिन्नलता विशेषमा दुई स्रष्टालाई छिन्नलता गीत पुरस्कार गुठीले सम्मान गर्ने भएको छ ।

विसं २०३९ मा स्थापित सो गुठीले गीत, गायन, सङ्गीत विधामा उत्कृष्ट योगदान पुर्याए बापत हरेक वर्ष छिन्नलता पुरस्कार र सम्मान गर्दै आइरहेको छ । उक्त पुरस्कारको राशि जनही रु ५० हजार र सम्मानपत्र रहेको छ भने नवप्रतिभा पुरस्कारको राशि रु ३५ हजारसहित सम्मानपत्र रहेको छ ।

गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको सभापतित्वमा बसेको बैठकले छिन्नलता गीत पुरस्कार गीत रचनामा धनेन्द्र विमल, गायनमा शिशिर योगी र सङ्गीतमा टीका भण्डारी तथा युवा नवप्रतिभामा मीना पोख्रेल निरौलालाई सम्मान गर्ने निधो गरेको हो । यसैगरी, छिन्नलता विशेष सम्मान गायनमा माधवलाल श्रेष्ठ र सङ्गीतमा मणिकमल क्षेत्रीलाई दिने निर्णय गरिएको गुठीका सहकोषाध्यक्ष रमेशप्रसाद ढुङ्गानाले जानकारी गराए ।

गुठीका संस्थापक एवं गीतकार स्व. रमोलादेवी शाह ‘छिन्नलता’को जन्मतिथि विसं २०७४ असार २० गते पुरस्कार र सम्मान वितरण गरिने सहकोषाध्यक्ष ढुङ्गानाले जानकारी गराएका छन् । गुठीले प्रदान गर्ने उक्त पुरस्कारबाट गीत, गायन संगीत विधामा लागेकाहरुलाई उत्साहित बनाउँछ ।