कभर स्टोरी

संघीय संसदका सदस्यहरुले आज शपथ लिने

By Bala Adhikari

March 04, 2018

काठमाडौं, फागुन २० । संघीय संसदका सदस्यहरुले आज पद तथा गोपनियताको शपथ लिने भएका छन् ।

सांसदहरुले निर्वाचन सकिएको तिन महिनापछि आज सपथ लिने भएका हुन् । संसद्को पहिलो बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्ने छ ।

प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ गरी संघीय संसद्का कूल ३ सय ३४ सदस्यमध्ये आज ३ सय ३० जनाले शपथ लिने भएका छन् । प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण ५ बजेका लागि तय गरिएको संघीय संसद् सचिवालयले बताएको छ ।

सर्वोच्च अदालतले शपथमै रोक लगाएका कारण सरकारको सिफारिसमा राष्ट्रियसभामा मनोनित डा. युवराज खतिवडा, रामनारायण बिडारी र डा. विमला पौडेल राईको शपथग्रहण आज नहुने भएको छ ।

प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादव र राष्ट्रिय सभामा नेपाली कांग्रेसकी तारादेवी भट्टले शपथ गराउने तय भएको छ । यादव र भट्टले आजै १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिने कार्यक्रम रहेको छ ।