काठमाडौँ, फागुन २० । नेपाल र इथियोपियाका शान्तिसैन्यले बितेका महिनामा शान्ति सुव्यवस्था कायम गरेकामा द्वन्द्वग्रस्त अफ्रिकी मुलुक दक्षिणी सुडानको येइ नगरका बासिन्दाले प्रशंसा गरेका छन् ।
येइ आधार इलाकाबाट खटिएका राष्ट्र संघका शान्ति सेनाका कारण केही महिनायता नगर क्षेत्रमा तुलनात्मक रुपमा शान्ति सुरक्षाको अवस्था सुदृढ भएको अनुभूति सो नगरका बासिन्दाले प्रकट गरेको राष्ट्रसंघीय सूचना केन्द्रले बताएको छ ।
गत पुसदेखि येइ क्षेत्रमा राष्ट्रसंघीय शान्ति सेनाले शिविर स्थापना गरी कार्य क्षेत्रमा नियमित गस्तीलगायत सुरक्षा सतर्कताका उपाय प्रभावकारी तुल्याउँदै आएको छ ।