शिक्षा

शैक्षिक हडतालले शैक्षिक संस्था संचालन भएनन्

By Bala Adhikari

March 04, 2018

काठमाडौँ, फागुन २० । नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)को शैक्षिक हड्तालका कारण आज काठमाडौँ उपत्यकासहित देशभरका शैक्षिक संस्था सञ्चालन संचालन भएनन् ।

शैक्षिक हड्तालका कारण क्याम्पसदेखि सामुदायिक तथा निजी विद्यालयको पढाइ बन्द भएको हो । शिक्षा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्सालले शैक्षिक हड्तालका कारण करीव ३५ हजार विद्यालयका ७५ लाख विद्यार्थीको पढाइ प्रभावित भएको बताएका छन् ।

यस्तै निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)का महासचिव राजेन्द्र बानियाँले भने शैक्षिक हडतालका कारण करिव आठ हजार निजी विद्यालय बन्द भएको जनाउँदै सरकारले निजी स्कूललाई सुरक्षा दिन नसकेकाले पढाइ सञ्चालन गर्न नसकिएको बताए ।

क्रान्तिकारीका उपाध्यक्ष लालबहादुर तामाङले आफ्नो संगठनलाई सरकारले राजनीति गर्न प्रतिबन्ध लगाएको र संगठनका नेतालाई पक्राउ गरेको विरोधमा शैक्षिक हडताल गरिएको जनाए ।

सरकारले केही दिनअघि क्रान्तिकारीका महासचिव दीपेन्द्र चलाउनेसहित केन्द्रीय सदस्य सन्तोषी भट्टराई र धनबहादुर नेपालीलाई पक्राउ गरेको थियो ।