कभर स्टोरी

राष्ट्र निर्माणको यात्रामा सबै पक्षको रचनात्मक सहयोगको खाँचो : दाहाल

By Bala Adhikari

March 06, 2018

काठमाडौँ, फागुन २२ । असन्तुष्ट पक्षले उठाउँदै आएको संविधान संशोधनको विषयलाई औचित्यका आधारमा अगाडि बढाइने नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले संविधानसभाबाट निर्माण भएको संविधानलाई कार्यान्वयन गर्न प्रभावकारी प्रयत्नको आवश्यकता रहेको बताउँदै असन्तुष्ट पक्षलाई मिलाएर राष्ट्र निर्माणको कार्यभार पूरा गरेर छाडिने दृढता व्यक्त गरे ।

वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सबै पक्षलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेको स्मरण गर्दै अध्यक्ष दाहालले राष्ट्र निर्माणको यात्रामा सबै पक्षको रचनात्मक सहयोगको खाँचो औंल्याए । संविधान कार्यान्वयनमा सबै पक्षको सहयोग भएकै कारण तीन वटै तहको निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले मुलुकले भोग्न लागेको आर्थिक संकटको समस्या सुल्झाउन पनि सबैको सहयोग आवश्यक रहेको बताए ।

विगतमा पद प्राप्तिका लागि जस्तोसुकै चलखेल गर्ने प्रवृत्ति हावी भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन र राष्ट्र निर्माणको महाभियानमा एक भएर जानुपर्ने र नयाँ परिस्थितिमा कार्यशैली पनि नयाँ हुनुपर्ने प्रष्ट्याए । पूर्वाधार, पर्यटन, जलस्रोत र कृषिजन्य उद्योगको विकास गुणात्मक रुपमा लैजानुपर्नेमा उनले जोड दिए ।

सुशासन, समृद्धि र स्थायित्व प्रदान गरेर रोजगारीको खोजीमा विदेशिएका युवालाई स्वदेश फर्काउन सकिने अध्यक्ष दाहालको भनाइ छ । कुशासन, भ्रष्टाचार, अराजकता र अनियमितता अन्त्य गर्न वर्तमान सरकार दृढताका साथ लाग्ने अध्यक्ष दाहालको विश्वास थियो ।

राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई विनाभेदभाव दण्ड दिने संस्कारको विकास गर्नु जरुरी रहेको उनको भनाइ छ । हामीलाई जनताले सुशासन, स्थायित्व र विकासका लागि मत दिएको स्मरण गर्दै उनले त्यसप्रति सबै इमान्दार हुन जरुरी रहेको विचार व्यक्त गरे ।

चीन र भारतले गरेको आर्थिक समृद्धिबाट फाइदा लिएर नेपालको विकासको ढोका खोल्न सकिने स्पष्ट पार्दै उनले भने– हामी भारतपरस्त पनि होइनौँ, चीनपरस्त पनि होइनौँ । हामी नेपालपरस्त भएर मुलुक निर्माणमा लाग्नु आवश्यक छ ।

प्रतिपक्षसँग मिलेर वाम गठबन्धनको सरकार अगाडि बढ्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले राष्ट्रिय कार्यसूचीमा सरकार र प्रतिपक्ष नहुने र सबै मिलेर जानुपर्ने बताए ।