काठमाडौँ, फागुन २५ । प्रतिनिधिसभाको सभामुख पदका लागि आज मनोनयन दर्ता हुने भएको छ ।
संघीय संसद् सचिवालयले तय गरेको कार्यसूची अनुसार शनिबार हुने निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि उम्मेदवारीको सूचना दर्ता गरिनेछ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सभामुखको उम्मेदवारी दर्ता गराइने सचिवालयका प्रवक्ता डा भरतराज गौतमले बताएका छन् । सत्तारुढ वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) ले सो पदमा उम्मेदवारी दिने तयारी गरेको छ भने प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले भने उम्मेदवारी दिनेबारे निर्णय गरिसकेको छैन ।
यही फागुन २२ गते बसेको प्रतिनिधिसभाको दोस्रो बैठकले सभामुखको निर्वाचनको मिति तोकेको थियो । हाल प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गर्दै आएका छन् ।