काठमाडौँ, ३० जेठ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले ललितकला प्रज्ञा प्रतिष्ठानमा भएका बहुमूल्य कलाकृतिको अस्तित्व सङ्कटमा परेको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा भएका बहुमूल्य कलाकृति भवन अभावमा अलपत्र परेका हुन् । नेपालका सङ्ग्रहालयमा समेत नभएका बहुमूल्य कलाकृति छन्, तर भवन अभावमा जोगाउन गाह्रो भइरहेको र अहिले खुल्ला अस्थायी टहरामा सीमित भएको तथा कलाकृति संरक्षण गर्न असम्भव जस्तै अवस्था सिर्जना भएको प्रतिष्ठानका सदस्य सचिव नवराज भट्ट बताउँछन् ।
नेपालमा भएका कलालाई प्रवद्र्धन र विकास गर्ने, ओझेलमा परेको कलाकारिता र कलाकारलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गराउने उद्देश्यले नक्सालस्थित सीता भवनमा २०२२ सालमा नेपाल ललितकला संस्था स्थापना भएको थियो । सो संस्था २०३४ सालमा प्रज्ञा प्रतिष्ठान अन्तर्गत रहेको सो संस्था २०६४ सालमा ऐन जारी भएपछि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको रुपमा रुपान्तरण भएको हो । बाल मन्दिर र प्रतिष्ठानको संयुक्त नाममा भएको जग्गामा भएको भवन जीर्ण बनेपछि बाल मन्दिरले भत्काउने भने पनि प्रतिष्ठान भने नभत्काउने पक्षमा रहेको बताइन्छ । कलाको संरक्षण सम्वद्र्धन गर्न उपयुक्त हुने भएकाले प्रतिष्ठान भने पुनःनिर्माण गर्ने पक्षमा रहेको हो ।
प्रतिष्ठानले २०२२ सालदेखि भोगचलन गर्दै आई तिरो तिरिरहेको जग्गालाई तत्कालीन प्रधानमन्त्री सुशील कोेइरालाको समयमा बसेको मन्त्रिपरिषद्को अन्तिम बैठकले सो जग्गा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई दिने निर्णय गरेको र भवन पुनःनिर्माणमा अन्योलता थपिएको हो । बाल मन्दिर र प्रतिष्ठानको कुल जग्गा ३९ रोपनी छ भने २४ रोपनी प्रतिष्ठानअन्तर्गत छ । प्रतिष्ठानअन्तर्गतको जग्गा बाटोलाई तीन रोपनी छुट्टयाइएको छ भने १५ रोपनी सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई दिने निर्णय गरिए पनि बाँकी छ रोपनी जग्गामा के गर्ने भन्ने चिन्ता संरक्षण समितिलाई छ । मन्त्रिपरिषद्को निर्णयविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले भवन पुनःनिर्माण प्रक्रिया अघि बढ्न नसकेको बताइन्छ । तत्काल राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अस्थायी ग्यालरी निर्माणको लागि रु ७५ लाख दिने भनेपनि नक्सा पास नभएकाले सो रकम प्राप्त हुन सकेको छैन ।
भवन निर्माण गर्न नेपालस्थित चिनियाँ र भारतीय राजदूतावास इच्छुक देखिन्छन् तर, जग्गा विवादका कारण सो प्रक्रिया अघि बढ्न सकिरहेको छैन । भूकम्पले भवनको अवस्था यस्तो जीर्ण भएको छ कि धेरै ठाउँमा जान डरलाग्दो छ, अधिकांश सामान अस्तव्यस्त अवस्थामा रहेको जिन्सी शाखा प्रमुख पुरुषोत्तम न्यौपाने बताउँछन् । हाल प्रतिष्ठानमा बालकृष्ण समका आधुनिक र परम्परागत चित्र, मूिर्त र आफ्नै सङ्ग्रहालयमा भएका परम्परागत कलाकृति संरक्षण गरिएको छ । प्रतिष्ठान अन्तर्गतका छ विभाग बजेट अभावका कारण हरेक वर्ष वैशाखमा हुने राष्ट्रिय ललितकला प्रदर्शनी यस बर्ष असारमा पुगेको छ ।
प्रदर्शनीमा ४५० कलाकारका ५०० भन्दा बढी कलाकृति नेपाल कला परिषद्, बबरमहलमा प्रदर्शन हुने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले नेपाल सङ्गित तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई समेत भवनको आवश्यक भएकाले सरकारले उपयुक्त स्थानमा जग्गा व्यवस्था गर्नसके कलाकृतिको सम्बद्र्धन र प्रवद्र्धन गर्न सहयोग पुग्ने र प्रतिष्ठानको समस्या समाधान गर्न सम्बन्धित निकायसँग अनुरोध गर्दै सरोकारवालाको समयमा नै केन्द्रित हुन जरुरी रहेको बताएकी छिन् । हाल नेपाली कलामध्ये धातुका मूर्ति अन्तर्राष्ट्रियस्तरमा माग भइरहेका छन् । नेपाली कलाकारिताले उचाइ लिइरहेको र अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाउन सफल भइरहेको हुँदा भवन पुनःनिर्माण अत्यावश्यक रहेको कुलपति रागिनी उपाध्याय बताउँछिन् । पुन निर्माणमा ढिलाई गर्नाले कला संस्कृति र पहिचानको लोप हुने खतरा रहेको बताउँदै समयमानै सरोकारवालाको ध्यान केन्द्रित हुनु जरुरी रहेको विज्ञहरु बताउँछन् ।