समाचार

सरकारी स्वास्थ्य संस्थाप्रति बिरामीको आकर्षण बढ्दो

By Bala Adhikari

March 11, 2018

ललितपुर, फागुन २७ । भौतिक पूर्वाधार, पर्याप्त जनशक्तिका कारण सरकारी स्वास्थ्य संस्थामा पनि बिरामीको आकर्षण बढ्न थालेको छ ।

निजी अस्पताल नजिकै रहेको महालक्ष्मी नगरपालिकास्थित लुभूमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने बिरामीको संख्यामा वर्षेनी वृद्धि भइरहेको छ । गत वर्ष औषतमा ६० बिरामी उपचारका लागि केन्द्र आइपुगेको बताइएको छ भने यस वर्ष अझै संख्या बढ्ने अस्पतालका (स्वास्थ्य सहायक अर्जुन लाबदले बताए ।

उनले भने अघिल्लो वर्ष एक वर्षमा जति बिरामी आएका थिए अहिले आठ महिनामा नै त्यति बिरामी उपचारका लागि यहाँ आइसकेका छन् । केन्द्रमा अस्पतालमा जस्तै सबै उपचार सेवा र चिकित्सक हुनाले उपचारका लागि बिरामी आउने क्रममा वृद्धि भएको उनले बताए ।

अस्पतालमा अहिले इन्टर्नसिपका लागि आएका समेत पाँच चिकित्सक कार्यरत रहेका छन् । सातामा एक पटक वीर अस्पतालका विशेषज्ञ चिकित्सकले पनि जाँच गर्छन् । केही वर्ष पहिलेसम्म केन्द्रमा आउने बिरामीको जाँच स्वास्थ्य सहायकले गर्थे । अहिले चिकित्सकले नै जाँच गर्ने भएकाले स्थानीयवासी र यहाँ अस्थायी रुपमा बसोबास गरेका दुवैखालका बिरामी बढेका छन् उनले भने ।

केन्द्रमा सबैभन्दा बढी ग्याष्ट्रिक र रुघाखोकी, ज्वरोजस्ता मौसमी समस्याका बिरामी आउने गरेका छन् । लुभू र आसपासका क्षेत्रमा रहेका साना–ठूला कारखानामा चोट लागेका बिरामी तथा रक्तचाप र नसर्ने रोगका बिरामी पनि उपचारका लागि आउने गर्छन् । केन्द्रमा चौबीसघण्टे सेवा लागू छ । गर्भवती जाँच र सुत्केरी हुनका लागि पनि यहाँ आउँछन् । यहाँ धेरैखालका रोगको उपचार हुने हुँदा बिरामीको चाप बढिरहेको छ– उनले भने ।

केन्द्रमा एक वर्षमा झण्डै ४०० जना गर्भवती जाँचका लागि आउँछन् । अघिल्लो वर्ष एक वर्षमा ३० महिलाले यहाँ नै सन्तानलाई जन्म दिए । गर्भवती जाँचका तुलनामा सुत्केरी हुन आउनेको संख्या बढी छ । उनका अनुसार पहिले यहाँ जाँच गरेर सुत्केरी हुनका लागि अस्पताल जाने महिला धेरै छन् । केन्द्रमा बिरामीको चाप भएकाले जिल्ला जनस्वास्थ्य कार्यालयले सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने औषधि पर्याप्त र समयमा उपलब्ध गराइरहेको लाबदले बताए । उनले भने एकातिर जिल्लाले सजिलै दिएको छ र यातायातको पनि सहजताले गर्दा बिरामीले यहाँ सजिलै औषधि पाएका छन् ।

सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ किसिमका औषधि निःशुल्क गरेको छ । केन्द्रले कुनै पनि सेवाका लागि बिरामीबाट शुल्क लिने गरेको छैन । लुभूबाट छोटो दूरीमा नै निजी अस्पताल पुग्न सकिन्छ । झण्डै आधा घण्टा गाडीमा हिँड्दा धेरै निजी अस्पताल भेटिन्छ । यहाँ नभएका सेवा लिन र कोही ठूला अस्पताल नै जान चाहने मानिस मात्रै उता जाने गरेको उनको भनाइ छ ।

स्थानीयवासीलाई सामान्य उपचारका लागिसमेत निजी अस्पताल पुग्नुपर्ने बाध्यता छैन । ललितपुरमा जिल्ला तहको अस्पताल सञ्चालनमा नहुँदा प्राथमिक स्वास्थ्य केन्द्र नै सरकारी कार्यक्रम लागू गर्ने ठूला स्वास्थ्य संस्था बनेका छन् ।

कुष्ठरोगीलाई कानूनी विभेद

सामाजिक विभेद भोग्दै आएका कुष्ठरोग प्रभावितहरु कानूनी रुपमा समेत विभेदमा परेका छन् । मुलुकी ऐनको विवाहसम्बन्धी व्यवस्थामा कुष्ठरोग प्रभावितसँग विवाह गर्न–गराउन नहुने तथा विवाह बदर हुने र गर्न सकिने व्यवस्थाका कारण उनीहरु कानूनी विभेदमा परेका हुन् ।

अधिवक्ता डा रमेश पराजुली भेदभावविरुद्धको अधिकारको प्रत्याभूति यस्ता व्यवस्थाका कारण हुन नसक्ने बताए । कानूनी व्यवस्था अझै पछि धकेलिएको उनले बताए । पहिले हटिसकेको यो विषय नयाँ पारिवारिक कानूनमा थपिएको उनले बताए । बुझ पचाएर राज्यले कुष्ठरोग प्रभावितलाई विभेद गरेको उनको भनाइ छ ।

संविधान बन्ने क्रममा द लेप्रेसी मिसन संस्थाले सभासद्लाई बोलाएर सो विषयमा ध्यानाकर्षण गराएको आनन्ददवन अस्पतालका तालीम संयोजक गोपाल पोखरेलले बताए । सभासद्हरु त्यसबारेमा सजग भए पनि बेवास्ता गरेको उनी बताउँछन् ।

एकातिर कुष्ठरोग निको हुने रोग भन्ने र अर्कातिर विवाह गर्न नहुने र गरेमा रद्द हुने भनेर राज्यले दोहोरो चरित्र देखाएको छ उनले भने औषधिको सेवनपछि रोग नसर्ने हुँदा यो रोगबाट प्रभावितलाई विभेद गर्न हुँदैन ।

सरकारले सात वर्ष पहिले रोग निवारणको घोषणा गरे पनि वर्षेनी झण्डै तीन हजार कुष्ठरोगका नयाँ बिरामी फेला पर्ने गर्दछन् ।