कभर स्टोरी

अनिवार्य उपस्थित भई प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन

By Bala Adhikari

March 11, 2018

काठमाडौँ, फागुन २७ । नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को संयुक्त संसदीय दलले प्रधानमन्त्रीको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको संयुक्त बैठकले दुवै दलका सबै संसद्लाई अनिवार्य रुपमा उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

ओली यही फागुन ३ गते प्रधानमन्त्रीमा चयन भएका थिए । संविधान अनुसार प्रधानमन्त्रीमा चयन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ । संयुक्त संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेकपा(एमाले) संसदीय दलका नेता ओलीले संवैधानिक व्यवस्था अनुसार विश्वासको मत प्रदान गर्न ह्वीप जारी गरे । सबै प्रतिनिधिसभा सदस्यलाई प्रस्तावको पक्षमा मत दिन ह्वीप जारी गर्दछु– प्रम ओलीले भने ।

उनले दुवै दलले देशलाई सुशासन र आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउने प्रण गरे अनुसार संसद् र सरकार अगाडि बढाउनुपर्ने भएकाले सोही मर्मलाई ध्यान दिन अनुरोध गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनिवार्य रुपमा प्रधानमन्त्रीका पक्षमा मत दिन आफ्नो पार्टीका प्रतिनिधिसभा सदस्यलाई अनुरोध गरेका छन् । जनताको भरोसा र विश्वासलाई व्यावहारिक रुप दिन सबैले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुहोला उनले भने ।

उनले सरकार र संसद्को काम दुवै पार्टीले कदममा कदम मिलाएर अगाडि बढ्नुपर्ने अवस्था भएकाले ध्यान दिन प्रतिनिधिसभा सदस्यलाई अनुरोध गरेका छन् ।