समाचार

उपत्यकामा वर्षा

By Bala Adhikari

March 11, 2018

काठमाडौँ, फागुन २७ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्थानीय वायुको प्रभावका कारण अहिले असिना पानी परिरहेको छ ।

स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाका केही स्थानमा मेघ गर्जनसहित वर्षा भएको मौसमविद् शान्ति कँडेलले बताएका छन् । अहिले देशका पूर्वी, मध्य र पश्चिम पोखरापूर्वको भेगमा बदली तथा पोखरादेखि पश्चिम, सुदूरपश्चिम र तराई क्षेत्रमा मौसम सामान्य रहेको उनको भनाइ छ ।

आज पनि दिउँसोपख मध्य र पूर्वी पहाडी क्षेत्रमा मेघ गर्जनसहित हल्का वर्षा हुने मौसमविद् कँडेलले बताए । पूर्वमनसुनको याम भएका कारण स्थानीय वायुको प्रभावले मेघ गर्जनसहित छोटो अवधिको वर्षात् गराउँछ ।

सामान्यतः ‘मार्च, अप्रिल र मे’ पूर्व मनसुनी याम मानिन्छ । तापक्रम पनि क्रमशः बढ्दै गएकाले मध्याह्नपछि बदली र वर्षा गराउने सम्भावना हुन्छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम तापक्रम २६.६ र न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको छ ।