आर्थिक

नेपाल– हङकङ एकदेशीय व्यापार मेला हुने

By Bala Adhikari

June 13, 2017

काठमाडौँ, ३० जेठ । नेपाल हस्तकला महासंघ र हङकङ नेपाल व्यापार संघको संयुक्त आयोजनामा नेपाल– हङकङ एकदेशीय व्यापार मेला हुने भएको छ ।

आगामी असार १० र ११ गते हङकङस्थित सांस्कृतिक केन्द्रमा उक्त मेला आयोजना हुन लागेको हो । मेलामा नेपालमा उत्पादित प्रमुख हस्तकलाको प्रदर्शन तथा बिक्री गरिने महासंघका महानिर्देशक डा गोविन्द्रप्रसाद रेग्मीले जानकारी दिए । मेलामा नेपालको कला र संस्कृति झल्कने गरी सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने कार्यक्रम समेत रहेको छ । उक्त मेलामा नेपाली हस्तकला उद्यमी व्यवसायी १५ वटा फर्म कम्पनीले सहभागिता जनाउने रेग्मीले बताएका छन् ।

मेलाबाट नेपाल र हङकङको कला तथा सांस्कृतिक एवम् व्यापारिक सम्बन्ध विस्तार हुने महासंघले विश्वास लिएको छ । मेलामा नेपालका तर्फबाट ५० जनाभन्दा बढीले भाग लिने महासंघले जनाएको छ । विश्वसामु आफ्नो कला संस्कृतिको पहिचान चिनाउनका लागि पनि यस मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अनुमान गर्न सकिन्छ ।