कभर स्टोरी

बंगलादेशी पर्यटन मन्त्रीसहितको टोली विमान दुर्घटनाबारे जानकारी लिन काठमाडौंमा

By Bala Adhikari

March 13, 2018

काठमाडौँ, फागुन २९ । बंगलादेश सरकारको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डल सोमबार दुर्घटना भएकोे यूएस बंगला विमानको अवस्थाका बारेमा जानकारी लिनका लागि नेपाल आएका छन् ।

बंगलादेशका नागरिक उड्डयन मन्त्री एकेएम शाहजान कमल र परराष्ट्र राज्यमन्त्री शाहरिर अलाम तथा नागरिक उड्डयन प्राधिकरण, बंगलादेशका उच्च अधिकारीसहितको टोली आज नेपाल आएको हो । उच्चस्तरीय सरकारी टोली यूएस बंगला विमान दुर्घटनाबारे जानकारी लिन नेपाल आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताएका छन् ।

विमानमा सवार चालक दलका सदस्यसहित ५१ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मृत्यु हुनेहरुमा २२ जना नेपाली, २८ जना बंगलादेशी र एक चिनियाँ नागरिक रहेका छन् । दुर्घटनामा घाइते अन्य २० जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विमानमा चारजना चालक दलका सदस्यसहित ७१ सवार थिए ।

बंगलादेशको उच्चस्तरीय टोली केहीबेरअघि काठमाडौँ आइपुगेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् । बंगलादेशबाट आउने टोलीमा दुर्घटनामा परेका परिवारका आफन्तसमेत रहेको ठाकुरले बताएका छन् ।

सोमबार विमान दुर्घटना भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन संवाद गरी विमान दुर्घटनाबारे जानकारी गराएका थिए ।