कभर स्टोरी

राष्ट्रपति निर्वाचनमा १८ मतदाता अनुपस्थित, मतगणना कार्य शुरु

By Bala Adhikari

March 13, 2018

काठमाडौँ, फागुन २९ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिको निर्वाचनमा संघीय संसद्का पाँचजना सांसद अनुपस्थित भएका छन् ।

संघीय संसद्का कूल ३३१ सांसदमध्ये डा बाबुराम भट्टराई, जितेन्द्रनारायण देव, प्रेम सुवाल, रमेश यादव र रेशमलाल चौधरी अनुपस्थित भएको निर्वाचन आयोगले जनाएको छ । यस्तै, प्रदेशसभातर्फका कूल ५४९ प्रदेशसभा सदस्यमध्ये ५३६ जनाले मतदान गरेका थिए ।

कूल १३ जना प्रदेशसभा सदस्य मतदान प्रक्रियामा अनुपस्थित भएका थिए । मतदान प्रक्रियामा अनुपस्थित हुने प्रदेशसभा सदस्यमा कृष्णबहादुर चौधरी, धनमाया लामा पोखरेल, प्रल्हाद गिरी, प्रेम तामाङ, विराजभक्त श्रेष्ठ, मनिषकुमार सुमन, रमेश पौडेल, दिन पन्त, शोभा शाक्य, सुरेन्द्र गोसाई, हरिशरण आचार्य, हिमबहादुर शाही र सिर्जना सैँजु रहेका छन् । आज बिहान १०ः०० बजेबाट थालिएको राष्ट्रपतिको मतदान प्रक्रिया अपराह्न ३ः०० बजेसम्म चलेको थियो ।

निर्वाचन आयोगले पहिलोपटक राष्ट्रपति पदका लागि मतदान गराएको हो । संघीय संसद् र प्रदेशसभाका सदस्यलाई मतदाता बनाएर निर्वाचन गरिएको यो पहिलो पटक हो । यसअघि राष्ट्राध्यक्षको चयन व्यवस्थापिका–संसद् सदस्यले मात्रै गरिएको थियो ।

राष्ट्रपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारीलक्ष्मी राई प्रतिष्पर्धामा उत्रिएका हुन् । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संवैधानिक व्यवस्था गरिएको हो ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रियसभाका सदस्य डा युवराज खतिवडा, रामनारायण बिँडारी र विमला राई पौडेलले मतदानमा भाग लिन पाएनन् ।

यस्तै, प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरी पनि प्रहरी हिरासतमा रहेकाले मतदान गर्न पाएनन् । राष्ट्रपति निर्वाचनको मतगणना अहिले अपराह्न ४ बजेदेखि गर्न शुरु गरिएको छ ।