समाचार

लनटेनिस प्रतियोगिताको उपाधि रोहितलाई

By Bala Adhikari

March 14, 2018

काठमाडौँ, फागुन ३० । काठमाडौँका रोहित सुनुवारले ‘दशौँ सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता’ अन्तर्गत ३५ वर्षमाथिको भेट्रान्स एकलतर्फको उपाधि जितेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकूद समितिको आयोजनामा भएको सो प्रतियोगितामा सुनुवारले काठमाडौँकै राजु श्रेष्ठलाई ६–४ र ६–३ अंकले पछि पारे । त्यस्तै ६५ वर्षमाथिको उमेर समूहको भेट्रान्स एकलतर्फको फाइनलमा काठमाडौँका ज्ञानेन्द्रमान ताम्राकारले काठमाडौँकै दीपक श्रेष्ठलाई ४–० र ४–२ अंकले पराजित गरे ।

भेट्रान्स अन्तर्गत ५५ वर्षमाथि एकलतर्फको उपाधि मकवानपुरका कमल थापाले जितेका छन् । उनले ललितपुरका कृष्णराज घलेलाई २–६, ६–२ र १०–८ अंकले पराजित गरे । आजै सम्पन्न चौधौँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फको सेमिफाइनलमा एपिएफका दीपेश धामीले त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठलाई २१–१६ र २१– १६ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरे ।

अर्को सेमिफाइनलमा आर्मीका रत्नजित तामाङले दार्चुलाका प्रिन्स दाहाललाई २१–१७ र २१– १० अंकले पराजित गर्दै फाइनल यात्रा तय गरेका छन् । यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक पाँचौँ राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लब र न्यू–डाइमण्ड एकेडेमी विजयी भएका छन् ।

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोकस्थित भलिबल कोर्टमा भएको खेलमा नेपाल पुलिस क्लबले ढोरपाटन स्पोर्ट्स क्लब काठमाडौँलाई २५–९, २५–३ र २५–१९ को सोझो सेटमा पराजित गर्यो । सो खेलमा पुलिसकी कामना विष्ट प्लेयर अफ द म्याच घोषित भइन् ।

त्यस्तै न्यू–डाइमण्डले जावलाखेल भलिबल प्रशिक्षण केन्द्र ललितपुरलाई २५–१, २५–३ र २५–१० को सोझो सेटमा हरायो । उक्त खेलमा न्यू–डाइमण्डकी कृपा अधिकारी प्लेयर अफ द म्याच घोषित भएकी छिन् ।