समाचार

मन्त्रिमण्डलले पूर्णता पाएसँगै मुलुक नयाँ दिशामा अगाडि बढ्ने : दाहाल

By Bala Adhikari

March 14, 2018

काठमाडौँ, फागुन ३० । शुक्रबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।

बुधबार किराती राष्ट्रियमुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक किरात राई संघले आयोजना गरेको ‘प्रदेश नंं १ का संघीय तथा प्रदेशसभा सदस्यलाई सम्मान तथा बधाई कार्यक्रम’मा बोल्दै उनले शुक्रबारसम्ममा मन्त्रिमण्डलले पूर्णता पाउँने बताएका हुन् ।

मन्त्रिमण्डलले पूर्णता पाएसँगै मुलुक नयाँ दिशामा अगाडि बढ्ने बताउँदै उनले वाम गठबन्धनले सयुक्त रुपमा जारी गरेको घोषणापत्रको आधारमा सरकारले काम गर्ने जनाए । प्रदेशको नामकरण जनताको भावना अनुरुप राख्नुपर्नेमा जोड दिदैं अध्यक्ष दाहालले प्रदेशको नामकरण प्रदेश नंं ६ को जस्तै जनताको भावना, एतिहासिकता र भूगोललाई समेटेर राख्नुपर्ने उल्लेख गरे ।

उनले केन्द्रबाट हामीले त्यस्ता नाम राख्नका लागि सहज वातावरण बनाउने छौ, भन्दै संविधानबाट नै प्रदेशको नामकरण गर्ने विषयमा धेरै छलफल चले पनि पछि विवाद आउने भएकाले प्रदेशसभालाई सो जिम्मेवारी दिइएको बताए । प्रदेश नंं १ राजनीतिक र आर्थिक आन्दोलनमा नेतृत्व खेलेकाले राष्ट्रले पनि सो प्रदेशबाट अग्रगामी भूमिका खेल्ने अपेक्षा राखेको पनि उनको भनाइ छ ।

सो अवसरमा पूर्वसभामुख सुवाषचन्द्र नेम्वाङले जनताको भावना अनुसारको प्रदेशको नामाकरण गर्नुपर्ने बताउँदै निर्वाचनमा वाम गठबन्धनले व्यक्त गरेका प्रतिबद्धतालाई अलिकति पनि तलमाथि नहुने गरी काम गर्ने विचार व्यक्त गरे । सो कार्यक्रममा प्रदेश नंं १ का संघीय तथा प्रदेशसभा सदस्यलाई सम्मान गरिएको थियो ।

प्रदेश नंं १ को नाम किरात राख्नुपर्ने माग राख्दै सहभागी केहि सदस्यले माओवादी केन्द्रका अध्यक्ष दाहाल, पूर्व सभामुख नेम्वाङ र मुख्यमन्त्री राईलाई ज्ञापनपत्रसमेत बुझाइएको थियो ।