जिल्ला-विशेष

भोजपुरका ग्रामीण सडक अलपत्र

By Bala Adhikari

March 15, 2018

भोजपुर, चैत १ । भोजपुरका ग्रामीण सडक ठेकेदार भागेपछि अलपत्र अवस्थामा पुगेका छन् ।

डेनमार्क सरकारको अनुदानमा उन्नति परियोजनाद्वारा सञ्चालित भोजपुर—टक्सार—गुम्बा हँुदै कोट र गोगनेसम्म जाने सडकका ठेकेदार भागेपछि सडक अलपत्र बन्न पुगेका हुन् ।

सोही सडकको ठेकेदार देवजंग शाही भागेको भन्दै स्थानीय आक्रोशित भएपछि भोजपुर सदरमुकाममा बसेको सर्वपक्षीय बैठकले ठेकेदार सात दिनभित्र उपस्थित नभए कारबाही गर्ने निर्णय गरेको छ ।

सात दिनभित्र ठेकेदार उपस्थित भई काम शुरु नगरे ठेकेदारलाई कारबाही गर्ने र उक्त ठेक्काको काम उपभोक्तामार्फत गर्ने जिल्लास्थित स्थानीय सरकारका प्रमुख, राजनीतिक दललगायतको सर्वपक्षीय बैठकले निर्णय गरिएको भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेले बताएका छन् ।

एमके वाइपिजेभी निर्माण कम्पनीले २०१६ जुन १६ मा ठेक्का सम्झौता गरेको थियो । करिब रु १० करोडकोे ठेक्कामा हालसम्म १३ प्रतिशत मात्र काम भएको जिल्ला प्राविधिक कार्यालयले बताएको छ । बाँकी ८७ प्रतिशत काम भने अबको दुई महिनामा सक्नुपर्ने भएको छ ।