आर्थिक

सुत्केरी महिला र वृद्धवृद्धालाई थप एक हजार भत्ता प्रदान गरिने

By Bala Adhikari

March 16, 2018

तेह्रथुम, चैत २ । स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने आमालाई मेन्छ्यायेम गाउँपालिकाले प्रोत्साहन तथा यातायात खर्च बढाएको छ ।

सरकारले पहाडी क्षेत्रमा स्वास्थ्य संस्थामै गएर सुत्केरी गराउनेलाई ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत प्रोत्साहन स्वरुप रु एक हजार तथा यातायात खर्चबापत रु चार सय उपलब्ध गराउँदै आएको छ ।

सो गाउँपालिकाले त्यसबाहेक स्वास्थ्य संस्थामै आएर प्रसूति गराउने मोराहाङका महिलालाई थप रु एक हजार तथा श्रीजुङ र पौठाकका महिलालाई थप रु एक हजार ५०० यातायात खर्च दिने भएको हो ।

गाउँपालिकाले पहिलो गाउँसभाबाट मातृ तथा शिशु मृत्युदर कम गर्न तथा स्वास्थ्य संस्थाको पहुँच बढाउन यस्तो नीति लिएको गाउँपालिकाका उपाध्यक्ष गीता गौतमले बताइन् ।

उक्त गाउँपालिकाले सम्मान स्वरुप ८५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई बार्षिक रुपमा सम्मानस्वरुप रु एक हजार रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ ।