समाचार

‘हेलो सरकार सेवा’ बन्द

By Bala Adhikari

March 16, 2018

काठमाडौँ, चैत २ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पाँच स्थानमा सञ्चालित जनताको गुनासो सम्बोधन गर्नका लागि बनेको ‘हेलो सरकार सेवा’ बन्द भएको छ ।

पाँचवटै विकास क्षेत्रमा स्थापना गरिएको हेलो सरकार सेवा संघीयता कार्यान्वयनमा आएपछि बन्द भएको हेलो सरकारका कार्यक्रम प्रमुख प्रद्युन्नप्रसाद उपाध्यक्षले बताए । सर्वसाधारणको गुनासोलाई तत्काल सम्बोधन गर्नका लागि माघको पहिलो हप्तादेखि पोखरा, धनकुटा, हेटौडा, सुर्खेत र दिपायलबाट उक्त सेवा सुचारु गरिएको थियो ।

हामीले केन्द्रबाट नभई क्षेत्रीय कार्यालयबाट पनि सेवा दिएका थियौँ उनले भने– तर मुलुक संघीयतामा प्रवेश गरेपछि क्षेत्रीय कार्यालय पनि बन्द भएकाले ती ठाउँबाट दिइने हेलो सरकारको सेवा प्रभावित बनेको छ । हेलो सरकार शुरु गर्नका लागि खटिएका क्षेत्रीय प्रशासक कार्यालयका कर्मचारी प्रदेश कार्यालयमा गएपछि हेलो सरकार सेवा सञ्चालन प्रभावित भएको हो ।

वि.सं २०७१ देखि पोखराबाट क्षेत्रीयस्तरमा पहिलो पटक हेलो सरकार सेवा थालिएको थियो भने अन्तिममा दिपालयमा थालिएको थियो । ती ठाउँबाट हेलो सरकारमार्फत गुनासो सम्बोधन नभएपछि त्यहाँका गुनासो सिधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको हेलो सरकारबाट नै सम्बोधन हुने गरेको छ । प्रमुख उपाध्यायले सात वटै प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षबाट प्रदेशस्तरमा हेलो सरकार पुनःसञ्चालन हुने बताए ।

तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले २०६८ कात्तिक १७ गते जनताका गुनासो सम्बोधन गर्नका लागि हेलो सरकार सञ्चालन गरेका थिए ।