म्याग्दी, चैत ५ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालयको पुनःनिर्माण अभियान शुरु भएको छ ।
स्थापनाको ५०औं वर्ष पूरा भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका बेगखोलावासीले विद्यालय भवन पुनः निर्माण गर्नका लागि आर्थिक संकलन गर्ने कार्य अगाडि बढाएका हुन् ।
आगामी वैशाख १ र २ गते बेगमा बृहत् समारोहबीच मनाउन लागिएको स्वर्ण जयन्तीको अवसरमा प्रवासमा रहेका बेगखोलावासीको सक्रियतामा विद्यालय भवन पुनःनिर्माण अभियान सञ्चालन गरिएको मूल समारोह समितिका सचिव नक्कु (नगेन्द्र) पुर्जाले बताए ।
उनका अनुसार अहिलेसम्म बेलायत, हङकङ, कोरिया, जापान, पोर्चुगल, कतार लगायतका मुलुकमा रहेका बेगखोलावासीबाट करीव रु ५० लाख आर्थिक संकलन भइसकेको छ । बेलायतमा रु ३० लाखभन्दा बढी र हङकङमा रु १२ लाखभन्दा बढी आर्थिक संकलन भइसकेको विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका सचिव पुर्जाले जानकारी दिए ।
अभियानका क्रममा विभिन्न मुलुक र क्षेत्रमा रहेका बेगखोलावासीबाट रु एक करोड ५० लाख संकलन गर्ने र तीन वर्षको अवधिमा विद्यालयको पुनःनिर्माण गर्ने योजना रहेको अभियन्ताले बताएका छन् । तत्कालीन अवस्थामा रूखको बोटमुनि बाट पठनपाठन थालिएको सो विद्यालयलाई २०२५ सालदेखि सरकारले कक्षा ७ सम्म पठनपाठन हुने गरी निमाविको मान्यता प्रदान गरिएको थियो ।
यस विद्यालयबाट २०५७ सालमा पहिलो पटक कक्षा १० बाट तत्कालीन एसएलसी परीक्षामा विद्यार्थी भाग लिएका थिए ।