कभर स्टोरी

गिरिजा हामी सबैको मार्गदर्शक हुन् : अध्यक्ष दाहाल

By Bala Adhikari

March 21, 2018

गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।

बुधबार गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको पाँचौँ स्थापना दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै दाहालले गिरिजाप्रसाद कोइराला काँग्रेस पार्टीको मात्र नभई राजनेताका रुपमा सबै नेपालीको अभिभावक रहेको प्रष्ट पारेका छन् । गिरिजाप्रसाद कोइरालाले देश र जनताका लागि ठूलो योगदान दिएको स्मरण गर्दै गिरिजाप्रसादका हरेक कार्यक्रममा आफूलाई पनि बोलाउन अध्यक्ष दाहालले आग्रह समेत गरे ।

‘गिरिजाप्रसादको नाममा स्थापना भएका प्रतिष्ठान, कलेजमा मलाई नबोलाउँदा त्यो कार्यक्रम नै अधुरो हुन्छ कि भनेजस्तो लाग्ने उनले बताए । गिरिजासँग मेरो शान्तिप्रक्रिया आउँदा अभूतपूर्व सम्बन्ध कायम रहेकोले मलाई उहाँको नामसँग जोडिएको कार्यक्रममा नछुटाउन अनुरोध गर्छु उनले भने ।

कोइराला देश र जनताका लागि पार्टीभन्दा माथि उठि काम गर्ने नेता भएका कारण उनलाई राजनेताको रुपमा लिनुपर्ने धारणा दाहालको थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले शान्तिप्रक्रिया अघि गिरिजाप्रसाद र आफूबीच वैचारिक र भौतिक रुपमा निषेध भएको उल्लेख गर्दै तर शान्तिप्रक्रियामा ल्याउँदा भने दुईबीचको सम्बन्ध असाध्यै राम्रो भएको जिकिर गरे ।

मुलुकमा गणतन्त्र ल्याउनका लागि आफूले गिरिजाप्रसादसँग रोल्पा, रुकुम र भारतको दिल्लीबाट दैनिक १ घण्टासम्म कुराकानी गर्ने गरेको स्मरण गर्दै उनले गिरिजाप्रसादको सपना पूरा गर्नका लागि शान्ति, सहमति र सहकार्यलाई सबैले अँगाल्नुपर्नेमा जोड दिएका छन् । कोइरालाले देखाएको बाटोमा आफु सधैं हिड्ने प्रण गरेको दाहालले बताए ।

अध्यक्ष दाहालले संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानु अहिलेको आवश्यकता रहेको औंल्याउँदै राजनीतिक अन्तरविरोध भए पनि सबै दल एकताबद्ध भएर घरघरमा उज्यालो पुर्याउनुपर्ने प्रष्ट पारे । जसरी काँग्रेस र कम्युनिष्ट मिलेर निरंकुश पञ्चायत र राजतन्त्रको अन्त्य गरियो त्यसैगरी संविधान संशोधन गर्नुपर्दछ उनले भने । अब मुलुकको विकास र समृद्धिको नयाँ यात्रा कोर्नका लागि सत्ता र प्रतिपक्ष एकजुट भएर लाग्नुपर्ने दाहालको ठहर छ । अध्यक्ष दाहालले राजनीतिक रुपमा सत्ता पक्ष र प्रतिपक्ष अलग भए पनि राष्ट्रिय मुद्दामा एकजुट हुन जरुरी रहेको प्रष्ट पारेका छन् ।

सत्ता पक्ष र प्रतिपक्ष परम्परागत रुपमा रहने हो भने देश बन्दैन, त्यसैले दुवै मिलेर देश बनायौँ भने मात्र गिरिजाको सपना पूरा हुन्छ उनले भने । कलेजका संस्थापक अध्यक्ष भीमसेनदास प्रधानले शिक्षा सबैको पहुँचमा पुर्याउनु पर्ने गिरिजाप्रसादको सपनालाई साकार पार्ने उद्देश्यका साथ कलेज स्थापना गरिएको बताउँदै गिरिजाप्रसादले भनेजस्तो सहमति, सहकार्य र एकतामा सबै दलले जोड दिनुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शहरलाई सुन्दर बनाउनका लागि विद्यार्थी पनि लाग्नुपर्ने बताउँदै फोहर फाल्नेलाई नयाँ कानून बनाई कडा कारबाही गर्न थालिएको बताएका छन् । सबै शहरवासीको सहयोगले काठमाडौँलाई सुन्दर बनाउन सकिन्छ उनले भने ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थराज खनियाँले सामुदायिक कलेज आफ्नो प्राथमिकता रहेका बताएका छन् । व्यवस्थापिका–संसद्ले आफूखुशी त्रिविलाई नै नसोधी नीतिनियम बनाउन थालेको भन्दै उनले त्रिविका बारेमा जथाभावी राजनीतिक निर्णय नगर्न अनुरोध गरे ।

क्याम्पस प्रमुख खिलानाथ सापकोटाले कलेजले गरिबी असहायलाई निःशुल्क पढाउने गरेको बताउँदै कलेजमा अहिले एक हजार ३०० विद्यार्थी अध्ययन गरिरहेको बताएका छन् ।