कभर स्टोरी

प्रदेशस्तरमा नयाँ कार्यालय व्यवस्थापन गर्न शुरु

By Bala Adhikari

March 23, 2018

काठमाडौँ, चैत ९ । सातवटै प्रदेशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ कार्यालय व्यवस्थापन गर्ने भएको छ ।

यसअघिका क्षेत्रीय रुपमा खोलिएका कार्यालयलाई संघीय संरचना अनुसार सातवटै प्रदेशमा नयाँ कार्यालय खोलिन थालिएको आयोगका प्रवक्ता दीर्घराज मैनालीले बताएका छन् । संघीय संरचना अनुसार आयोगको संरचना पनि विस्तार गर्नका लागि प्रदेशस्तरमा नयाँ कार्यालय व्यवस्थापन गर्न शुरु गरेको उनको भनाइ छ ।

प्रदेश नंं १ को इटहरी, प्रदेश नं बर्दिवास, प्रदेश नं २ को हेटौँडा, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को बुटवल वा कोहलपुर, प्रदेश नंं ६ को सुर्खेत र प्रदेश नंं ७ को महेन्द्रनगर, धनगढी वा दीपायल राख्ने तयारी भइरहेको उनले जनाएका छन् ।

ती कार्यालयको संरचना र आवश्यक कर्मचारीका लागि अख्तियारले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिरहेको छ । उनले सर्वेक्षणपछि छिट्टै सात वटै प्रदेशमा प्रदेश कार्यालय सञ्चालन ल्याउने बताए ।

आयोगले २०७० सालमा भ्रष्टाचार ढिलासुस्ती नियन्त्रणका लागि पाँच वटै विकास क्षेत्रमा कार्यालय स्थापना गरेको थियो ।