रोल्पा, चैत ११ । रोल्पाका अपांग विद्यार्थीले आवश्यक सेवासुविधाको अभावमा विशेष कक्षा सञ्चालनमा समस्या हुँदै आएको गुनासो गरेका छन् ।
यहाँ २०६० सालदेखि दृष्टिविहीन, सुस्तश्रवण तथा बहिराका लागि विशेष कक्षा सञ्चालन हुँदै आएको छ । जिल्ला सदरमुकाममा रहेका बालकल्याण मावि लिवाङ र कृष्ण आधारभूत विद्यालय धारापानीले उक्त कक्षा सञ्चालन गरेका छन् ।
विशेष कक्षा सञ्चालन गरेको बालकल्याण नमूना माविमा हाल १२ दृष्टिविहीन र १३ सुस्त श्रवणले अध्ययन गरिरहेका छन् । यसैगरी कृष्ण आधारभूत विद्यालय धारापानीमा चार जना सुस्त मनस्थितिका विद्यार्थी अध्ययनरत छन् ।
शुरुमा खरिद गरेका सामग्रीबाटै काम चलाउने गरेको बताउँदै स्थानीय तह, सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग नभए कक्षा सञ्चालन गर्न समस्या हुने बताएका छन् । सरकारी स्तरबाट अध्ययन र बासस्थानका लागि प्रतिविद्यार्थी प्रतिमहिना चार हजार र औषधोपचारका लागि एक हजार २०० उपलब्ध हुँदै आएको भए पनि उक्त रकम अपुग भएको अपांग विद्यार्थीको भनाइ छ।
कक्षा सञ्चालनका लागि आवश्यक भवन, फर्निचर, शैक्षिक सामग्री, पाठ्यपुस्तकलगायत विद्यार्थीको सेवासुविधामा समेत कमी भएको भन्दै सहयोगका लागि सरोकारवाला निकायसँग अनुरोध गरेका हुन् । अपांगता भएका व्यक्तिलाई संगठित गर्दै हकअधिकारको संरक्षण, अध्ययन तथा जीविकोपार्जनमा समेत पहल गर्नुपर्ने माग गरिएको छ ।
अपांगता भएका विद्यार्थीले उचित वातावरणमा अध्ययन गर्न नपाएको दृष्टिविहीन विद्यार्थी चित्रवहादुर डाँगीले गुनासो गरेका छन् । “अपांग मैत्री कक्षा कोठाको अभावका साथै पाठ्यसामग्री, सहयोगी सामग्री तथा औषधोपचार र खानपानमा समेत समस्या भोग्दै आएका छौँ”, डाँगीले भने ।
विशेष कक्षाका लागि सरकारी स्तरबाट संवेदनशीलता नदेखाउने हो भने कक्षा नै बन्द गर्नुपर्ने बाध्यता हुन सक्ने विशेष कक्षा शिक्षक लक्ष्मीनारायण आचार्यको भनाइ छ । उनीहरुका लागि आवश्यक सुविधा र स्रोत साधनको अभाव रहेको उनले बताए छ । थप दिगो र व्यवस्थित रुपमा कक्षा सञ्चालन गर्न आवश्यक सहयोग गर्न स्रोत शिक्षक आचार्यले अनुरोध गरे ।