खेलकुद

‘खेलाडी उत्पादनमा सरकारले लगानी बढाउनुपर्ने’

By Bala Adhikari

March 26, 2018

काठमाडौँ, चैत १२ । भारतमा हुन लागेको अन्तर्राष्ट्रिय स्नोबोर्ड च्याम्पियनसिपमा नेपाल स्की संघले सहभागिता जनाउने भएको छ ।

भारतको हिमाञ्चल प्रदेशमा यही चैत १७ र १८ गते हुन लागेको सो प्रतियोगितामा नेपालको तर्फबाट महानजङ्ग पाण्डे र रञ्जन केसीले सहभागीता जनाउने संघले बताएको छ ।

सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली मंगलबार त्यसतर्फ जान लागेको हो । सो टोलीलाई सांसद जीवनराम श्रेष्ठले बिदाई गर्दै खेलाडीले अनुशासित भई प्राप्त गर्ने सफलताले समग्र मुलुकको गौरव र प्रतिष्ठा बढाउने विश्वास व्यक्त गरेका छन् ।

नेपाल स्की संघका अध्यक्षसमेत रहेका श्रेष्ठले स्थानीय तहदेखि नै खेलाडी उत्पादनमा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिए । नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका सांसद श्रेष्ठले उक्त खेललाई व्यावसायिक बनाउन आवश्यक पूर्वाधार विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

सो टोलीलाई आवश्यक सहयोगका लागि अफिसियल कर्मचारीमा उत्सव पाठक र सुरज काफ्ले रहेको संघले बताएको छ ।