कभर स्टोरी

निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलको प्रतिवेदनमाथि छलफल

By Bala Adhikari

March 26, 2018

काठमाडौँ, चैत १२ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा युरोपियन युनियन (इयु)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलको प्रतिवेदनमाथि छलफल भएको छ ।

रमेश लेखकले आजको बैठकमा केन्द्रीय सदस्य इयु निर्वाचन प्रर्यवेक्षण प्रतिनिधिमण्डलमाथि काँग्रेसले आधिकारीक विचार सार्वजनिक गर्नुपर्ने बताएका थिए । इयु निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गरेको पर्यवेक्षणका सम्बन्धमा प्रतिवेदन केही दिन अघि सार्वजनिक गरेको थियो ।

उक्त प्रतिवेदनका केही बुँदाले नेपालको संविधानका प्रावधानका बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै आलोचना भइरहेको छ । बैठक सम्पन्न भएसँगै पार्टीले त्यसबारेमा आधिकारीक विचार सार्वजनिक गरिने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

उनले इयु प्रतिनिधिमण्डलको प्रतिवेदनका केही अंशप्रति आपत्ति जनाउँदै क्षेत्राधिकार नाघेर प्रतिवेदन आएको आरोप लगाए ।

तेस्रो दिनको आजको बैठकमा गोविन्द भट्टराई, रमेश लेखक, डा डिला संग्रौला र लक्ष्मी परियारले विचार व्यक्त गरेका थिए । प्रतिनिधिसभाको बैठकका कारण आजको काँग्रेस बैठक स्थगित भई पुनः अपराह्न बस्ने जनाइएको छ ।