जिल्ला-विशेष

पशुपालनमा आत्मनिर्भर बन्दै मेल्लेख गाउँपालिका

By Bala Adhikari

March 30, 2018

अछाम, चैत १६ । मेल्लेख गाउँपालिका पशुपालनमा आत्मनिर्भर बन्दै गएको छ ।

त्यहाँका सबैजसो वडाका किसान पशुपालनका हिसाबले निकै अगाडि भएका कारण गाउँपालिका नै पशुपालन र मासुजन्य वस्तुमा आत्मनिर्भर अवस्थामा देखिएको हो । मेल्लेख गाउँपालिकामा आवश्यक बाख्रा र भैँसी तथा त्यसबाट प्राप्त हुने मासु र दूधजन्य वस्तुको बाहिरबाट आयात बन्दजस्तै रहेको जनाइएको छ ।

१० वटै स्थानीय तहमध्ये पशुपालनका लागि भूगोल, भौगोलिक, वातावरणीय रुपमा सन्तुलित र बाख्रापालनका दृष्टिकोणले निकै उपयुक्त क्षेत्र भएका कारण मेल्लेख गाउँपालिका क्षेत्रभित्रका किसान पशुपालन गरेर आत्मनिर्भर भएको गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख कृष्णबहादुर रोकायाको भनाइ छ ।

गाउँपालिकाको पशु सेवा शाखाका अनुसार प्रत्येक वडाका कृषकसँग तीन हजार बढी बाख्रा रहेका र वडा नम्बर १ र २ ऋषिदहमा भेडापालनसमेत भइरहेको छ । गाउँपालिकाभरि ३० हजारको हाराहारीमा बाख्रापालन भइरहेको छ भने दूधजन्य उत्पादनका लागि पालिने पशुवस्तुको समेत राम्रो सम्भावना रहेको रोकायाले बताएका छन् ।

गाउँपालिकाले एक गाउँ एक उत्पादन नीति लिएर पशुपालनलाई पनि उच्च महत्व दिएर काम कार्य अघि बढाइरहेको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले जानकारी गराए ।

गाउँपालिका, पशु सेवा कार्यालय र शाखामार्फत विभिन्न अनुदान सहयोग र आवश्यक प्राविधिक तथा व्यावसायिक ज्ञान प्रदान गरिएपछि किसानलाई पशुपालनका लागि निकै सहज भएको जनाइएको छ ।

यस वर्ष पनि गाउँपालिकाबाट पशु सेवातर्फ झण्डै रु २० लाख रकम विनियोजित गरी आवश्यक प्रचारप्रसार, घाँस विकास, औषधि खरिद र किसानलाई अनुदान सहयोगलगायतका कार्यक्रम अघि सारिएको गाउँपालिकाले जानकारी गराएको छ ।