काठमाडौँ, चैत १६ । लमा ब्यालेन्स सापटी लिन सकिने नेपाल टेलिकमले सेवा ‘नमस्ते क्रेडिट’ प्रारम्भ गरेको छ ।
टेलिकमले आज आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘नमस्ते क्रेडिट’ को प्रारम्भ गरे । कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा कल गर्दागर्दै ब्यालेन्स सकिएमा सापटी रकमबाट कललाई निरन्तरता दिन सकिने व्यवस्था गरिएको छ ।
यस्तो सापटी रकम रु पाँचदेखि रु ४० सम्म उपलब्ध हुने र उक्त रकम पछि गरिने रिचार्ज रकमबाट काटिने छ । यसरी सापटी लिँदा लिएको रकममा ब्याज वा अन्य कुनै कर लाग्दैन । कम्तीमा तीन महिना पहिलेदेखि प्रयोगमा रहेको सिममा मात्र यस्तो सुविधा उपयोग गर्न सकिने प्रवक्ता प्रतिभा वैद्यले बताए । कति रकम सापटी लिन सकिन्छ भन्नेबारेमा जानकारी लिनका लागि स्टाटस लेखेर १४७७ मा एसएमएस पठाउन सकिनेछ ।
यो सेवा बन्द गर्नका लागि स्टप लेखेर र फेरि यही सुविधा सञ्चालन गर्नका लागि स्टार्ट लेखेर १४७७ मा एसएमएस पठाउन सकिने प्रवक्ता वैद्यले बताएका छन् । एक पटक लिएको सापटी रकम तिरेपछि मात्र अर्को पटक पनि सापटी लिन सकिनेछ । सापटी रकमको प्रयोग गरी कल गर्नका साथै एसएमएस गर्न र डाटा चलाउन पनि सकिन्छ ।
सो अवसरमा राज्यमन्त्री बाँस्कोटाले नेपालमै पहिलो पटक प्रिपेड सेवा प्रारम्भ गरेको टेलिकमले ग्राहकको सहजताका लागि नमस्ते क्रेडिट सेवाको प्रारम्भ गर्नु सकारात्मक भएको बताए । टेलिकमले ‘नमस्ते क्रेडिट’ सेवा शुरु गर्दै आक्रामक बजार प्रवद्र्धन गर्ने नीतिको प्रारम्भिक एउटा पाइलो मात्रै हो भन्ने मैले बुझेको छु, अरु यस्ता धेरै काम टेलिकमले गर्नुपर्छ उनले भने ।
मन्त्री बाँस्कोटाले टेलिकमका अन्य सेवाको तुलनामा प्रिपेड सेवा अधिकांश नेपालीले प्रयोग गरिरहेकाले सो सेवाबाट कम्पनीको प्रतिस्पर्धी क्षमता र गुणस्तरीयता बढ्ने विश्वास व्यक्त गरे ।
टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीका ग्राहकले ब्यालेन्स सकिए पनि सापटी रकमबाट निरन्तर सेवा उपभोग गर्न सक्ने सेवाबाट कम्पनीप्रति ग्राहकमा थप विश्वास बढ्ने बताएकी छिन् ।